दार्चुला। सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो शिखर अपि हिमालसम्म आन्तरिक तथा बाह्य पर्यटकलाई सहज पहुँच दिलाउने उद्देश्यले संघीय सरकारले पर्यटकीय पदमार्ग निर्माण गरेको छ। दार्चुलाको अपि हिमाल गाउँपालिकाभित्र विभिन्न खण्डमा गरी अहिलेसम्म २१ किलोमिटर पदमार्ग निर्माण सम्पन्न गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले आर्थिक वर्ष २०७९/८० देखि पदमार्ग निर्माण कार्य अघि बढाएको हो। विभागका सिनियर डिभिजन इन्जिनियर सचिन्द्रकुमार यादवका अनुसार, खाईकोटदेखि बेस क्याम्पसम्मको १६ किलोमिटर खण्डमा सोलिङ, पिसिसी ढलान, रेलिङ र सिडिसहितको संरचना निर्माणमा पाँच करोड २८ लाख रुपैयाँ खर्च गरिएको छ।

गत आव २०८१/८२ मा धनबोरा–घुसा, खाईकोट–थुम्ती, र क्षेत्ती–भिरफाटा खण्डमा थप ५.५ किलोमिटर नयाँ पदमार्ग निर्माण गरिएको र त्यसमा तीन करोड दुई लाख रुपैयाँ खर्च भएको विभागले जनाएको छ। यसअघि आठ हजार २८२ खुड्किला भएको सिद्ध मकरीकोट पदमार्ग पनि निर्माण सम्पन्न भइसकेको छ।

अपि हिमाल (७,१३२ मिटर) तथा अपिनाम्पा संरक्षण क्षेत्र भित्र पर्ने अन्य हिमशृंखलाले पर्यटकलाई आकर्षित गरिरहेका छन्। गाउँपालिकाको पर्यटन इकाई प्रमुख विष्णुसिंह बुढाथोकीका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा १०३ जना विदेशी र २,७३३ जना स्वदेशी पर्यटकले अपि क्षेत्र भ्रमण गरेका थिए।

अपि भ्रमण वर्ष–२०८० मनाउँदै प्रचारप्रसारमा सक्रिय रहेको गाउँपालिकाले ६१ महिला र ५ पुरुषलाई होमस्टे तालिम र ट्रेकिङ गाइड तालिमसमेत प्रदान गरेको छ। संरक्षण क्षेत्रभित्र हिउँचितुवा, हाब्रे, मृग, रतुवा, झारल, कालो भालुजस्ता वन्यजन्तु र डाँफे, मुनाल, चिर, चिललगायत २०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइने हुँदा जैविक विविधताको दृष्टिले समेत अपि क्षेत्र विशेष महत्वको मानिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय