दार्चुला — सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला डिलासैनी गाउँपालिका–६ घर भई दार्चुलास्थित लटिनाथ माध्यमिक विद्यालय (टेक्स कार्यक्रम) रिठाचौपातमा अध्ययन गर्दै आएका एक विद्यार्थीले कञ्चनपुरमा सडकमा छाडिएका घाइते तथा अपाङ्ग पशुचौपायाको निःशुल्क उपचार थालेका छन्। भेटेरिनरी डिप्लोमा तह अध्ययनरत विद्यार्थी भाष्कर मालले ओजेटी (प्रशिक्षण) क्रममा कञ्चनपुरमा यस्तो मानवीय कार्य आरम्भ गरेका हुन्।

मालले सार्वजनिक स्थल तथा सडकमा बेसाहारा अवस्थामा छाडिएका पशुहरूको पीडा देखेपछि मानवता भुल्न नहुने भावनाबाट प्रेरित भएर उपचार सुरु गरेका हुन्। उनले हालसम्म ४० भन्दा बढी घाइते पशुहरूको निःशुल्क उपचार गरिसकेका छन्। यो कार्यलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाएका छन्।

उनले भनेका छन्, “जब म ओजेटीका लागि तराई झरेँ, त्यतिबेला एक चोटग्रस्त पशुको दर्दनाक अवस्था देख्दा मन कटक्क खायो। कतैभित्रबाट आवाज आयो— अब केही गर्नैपर्छ।” यही भावना र जिम्मेवारीबोधले उनको अभियान सुरु भएको हो, जुन अहिले धेरैका लागि प्रेरणाको स्रोत बन्दै गएको छ।

उनी ‘आई केयर यू’ नामक संस्थासँग समन्वयमा रहेर यो कार्यमा सक्रिय छन्। संस्था सञ्चालक मञ्जु शाही र गाइड विष्णु पनेरुको मार्गदर्शनमा उनले उपचार कार्यलाई व्यवस्थित रूपमा अघि बढाइरहेका छन्। संस्थाले निःशुल्क औषधि सहयोग गरेपछि माल थप उत्साहित बनेका छन्।

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “हामी गाईले दूध दिइरहँदा माया गर्छौं, तर दूध दिन छोडेपछि उसलाई सडकमा फालिदिन्छौं। यस्तो व्यवहारले हाम्रो मानवता नै प्रश्नमा पार्छ।”

दार्चुलाबाट कञ्चनपुरसम्म पुगेर पशु सेवामा समर्पण देखाएका विद्यार्थी मालले जनावरप्रतिको दया, सेवा र मानवीयता समाजमा फैलाउन चाहन्छन्। उनका प्रयासले भेटेरिनरी क्षेत्रमा अध्ययनरत अन्य विद्यार्थीहरूलाई पनि समाजसेवामा प्रेरित गर्ने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय