दार्चुला — मालिकार्जुन गाउँपालिकाले योग शिविर, जात्रा मेला र बैठक भत्तामा लाखौं खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनअनुसार पालिकाले विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम सञ्चालनमा १० लाख ७ हजार १५३ रुपैयाँ खर्च गरेको छ ।
शिविर र जात्रामा छुट्टै बजेट
उक्त प्रतिवेदनअनुसार मालिकार्जुन आध्यात्मिक सम्मेलन तथा आवासीय योग प्रशिक्षण शिविरमा ५ लाख ४५ हजार २८८ रुपैयाँ खर्च भएको छ भने जात्रा मेला व्यवस्थापनमा ४ लाख ६१ हजार ८६५ रुपैयाँ खर्च भएको उल्लेख छ । यो खर्चमा खानेकुरा, होटलका बील र बैठक भत्ता पनि समावेश छन् ।
बैठक भत्तामा पनि अनियमितता
गाउँसभा बैठक वापत २ लाख २ हजार रुपैयाँ भत्ता वितरण गरिएको छ । १०औँ गाउँसभामा ३९ जनालाई ७८ हजार, ११औँमा ४२ जनालाई ८४ हजार, १२औँमा ४० जनालाई ४० हजार भुक्तान गरिएको छ । तर, लेखापरीक्षण प्रतिवेदन अनुसार १०औँ गाउँसभा १ दिन मात्र बसेको देखिन्छ भने भत्ताको दरसमेत ऐन विपरीत १ हजार ५ सय कायम गरिएको छ ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा ऐन, २०७५ अनुसार अधिकतम भत्ता दर १ हजार मात्र हुनसक्ने प्रावधान रहेको छ । तर, पालिकाले नियम विपरीत २ लाख २ हजार रुपैयाँ बढी भुक्तानी गरेको भन्दै असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गाडी भाडा र मर्मतमा समेत खर्च
मालिकार्जुन गाउँपालिकाले सोही आर्थिक वर्षमा गाडी भाडामा २२ लाख १ हजार ४ सय रुपैयाँ खर्च गरेको छ भने इन्धन तथा मर्मत सम्भारमा ७ लाख ५४ हजार ४३३ रुपैयाँ खर्च गरेको उल्लेख छ ।
