दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्वर २ मा पर्ने नौगाड गाउँपालिका र ब्याँस गाउँपालिकाको समेत सिमा क्षेत्र रहेको सिद्धटोपी क्षेत्रमा शिवलिङ्ग स्थापना हुँने भएको छ ।
यहि श्रावण २६ गते सोमवारका दिन शिवलिङ्ग स्थापना हुन लागेको धार्मिक अभियान्ता एवम पत्रकार प्रेमराज जोशीले जानकारी दिनु भयो ।
शिवलिङ्ग र जलधारा धार्मिक अक्षय कोषबाट संकलित रकम १६ हजार रुपैयामा खरिद गरिएको उहाँले वताउनु भयो ।
शिवलिङ्ग स्थापना कार्यक्रममा विभिन्न ठाउँका ज्योतिषहरु तथा शिवभक्तहरूको उपस्थिति रहने छ । कार्यक्रममा सबै शिवभक्त तथा श्रद्धालु महानुभावहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ ।
शिवलिङ्ग स्थापनाका लागि गुरु ज्योतिषहरु र शिवभक्तहरु यहि श्रावण २५ गते आईतवार हिकिला देखि सिद्धटोपी बेस क्याम्प रहेको थाईसैन क्षेत्रमा जाने र २६ गते सोमबारका दिन शिवलिङ्ग स्थापना गरि फर्किने भएका छन ।
सिद्धटोपी मन्दिरको संक्षिप्त परिचय
भगवान ब्रह्माको भूमि देवी देवता र राक्षसको क्रीडास्थलका रूपमा रहेको सिद्ध टोपी हिन्दु धर्मको छुट्टै महत्त बोकेको धार्मिक तिर्थ स्थल हो ।
दुहुँ गाउँपालिका वडा नम्बर २, नौगाड गाउँपालिका वडा नम्बर १ र ब्याँस गाउँपालिका वडा नम्बर ३ को सीमा क्षेत्र रहेको समुद्रि सतहबाट झण्डै ३९ सय मिटर अग्लो सिद्ध टोपी क्षेत्र त्यहाँ बाट देखिने प्राकृति सौन्दर्यको दृश्यले मात्रै नभई यो क्षेत्रमा रहेका तीन दह (ताल) का कारण पनि प्रशिद्ध छ । यो क्षेत्रमा पर्ने तीनवटै दहहरुको आ–आफ्नै धार्मिक मान्यता र किंम्बदन्ती रहेको छ ।
सिद्ध टोपीको शिर भन्दा करिब ३ सय मिटर तल रहेको ब्रह्म दह, उक्त दहभन्दा करिब २ सय मिटर तल रहेको पासा दह र पासा दहभन्दा करिब ३ सय मिटर तल टोटे दह रहेको छ । यहाँ रहेका तीन दह र सिद्ध टोपीका कारणले मात्रै नभएर यो क्षेत्रको पूर्वी क्षेत्र नौगाड गाउँपालिकाको वडा नम्बर १ लक्सेरिमा भगवान शिवका १२ ज्योतिर्लिङ्गमध्ये एक नागेश्वर ज्योतिर्लिङ्ग, पश्चिम क्षेत्रमा दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलामा भगवान ब्रह्माको मन्दिर रहेको छ भने उत्तरी क्षेत्रमा ब्याँस गाउँपालिकाको वडा नम्बर ३ सिनामा सिद्ध देवताको मन्दिर र देवताहरु कैलाश जादा स्नान गर्ने ब्रम्हदहको पानी जम्मा भएर बनेको तातोपानी तालको कारणले पनि धार्मिक हिसाबले पवित्र मानिन्छ ।

