दार्चुला – दार्चुला जिल्ला अस्पतालमा हाल नियमित रूपमा शल्यक्रिया सेवा सञ्चालन भइरहेको छ । विगतमा शल्यक्रियाको आवश्यकता परेपछि अन्यत्र रेफर गर्नुपर्ने अवस्था आउँथ्यो भने अहिले भने अस्पतालमै सुरक्षित र सहज रूपमा सेवा प्रदान भइरहेको छ ।
अस्पतालका सूचना अधिकारी डम्मर दत्त भट्टका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र ६१ जना गर्भवती महिलाको शल्यक्रिया गरिएको छ । त्यस्तै ३८ जना जटिल प्रकृतिका र ३२७ जना नर्मल डेलिभरी गरी कुल ४२६ जना महिलाले एक वर्षको अवधिमा मातृत्व सेवा लिएको जानकारी दिइएको छ ।
हाल अस्पतालमा तालिम प्राप्त दक्ष चिकित्सकहरू कार्यरत रहेका कारण नियमित रूपमा शल्यक्रिया सेवा सञ्चालनमा आएको हो । शल्यक्रिया सेवाका लागि अस्पतालमा वरिष्ठ मेडिकल अधिकृत डा. रन्जित राज पाठक, मेडिकल अधिकृत डा. राजेश अवस्थी र डा. राजेश गिरी कार्यरत छन् । साथै अस्पतालमा हाल ९ जना चिकित्सकले सेवा दिइरहेका छन् ।
दक्ष चिकित्सक नहुँदा विगतमा गर्भवती महिलाहरूलाई डडेल्धुरा, कैलाली वा भारतको पिथौरागढसम्म उपचारका लागि जानुपर्ने बाध्यता थियो । सीमित स्रोतसाधन र भौतिक पूर्वाधारको अभावका बाबजुद पनि जिल्ला अस्पतालले नियमित सेवा प्रवाह गरिरहेको छ ।
