दार्चुला: दार्चुलासहित सुदूरपश्चिममा आज बुढी हाल्ने र ओल्के पर्व मनाइँदैछ। हरेक वर्ष भदौँ १ गतेका दिन बुढी हाल्ने परम्परा रहिआएको छ। नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने कार्यलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ। यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिका साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन्। यसलाई ‘बूढी पोल्ने’ भनिन्छ। बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं रोगको महामारी नआउने जनविश्वास रहिआएको छ।

यस्तै काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर सुदूरपश्चिममा ओल्के पर्व उल्लासपूर्वक मनाउने चलन परापूर्वकालदेखि रहिआएको स्थानीय संस्कृतिका जानकारहरू बताउँछन्। साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीमा दार्चुला, बैतडीसहित सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाइन्छ। साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाउने परम्परा छ।

ओल्के भन्नाले ‘उपहार’ वा ‘कोसेली’ बुझिन्छ। ओल्के र बुढी हाल्ने पर्वको धार्मिक मान्यता पनि रहेको छ। असत्यमाथि सत्यको विजय उत्सवको रूपमा बुढी हाल्ने र पोल्ने गरिन्छ।

सुदूरपश्चिम प्रदेशमा आज (आइतबार) सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारले ओल्के पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको प्रदेश राजपत्रमा उल्लेख गरिएको छ।

सुदूरपश्चिमका पहाडी समुदायले भदौँ १ गतेलाई ओल्के पर्वको रुपमा मनाउँदै आएका छन्। यो पर्वलाई जेठो पर्वको रुपमा मनाइन्छ। ओल्के पर्वपछि अन्य चाडपर्वहरू शुरु हुने गर्दछन्। भदौँमा गौरा पर्व र असोज/कार्तिकमा दशैँसहित जात्राहरू धुमधामसाथ मनाइन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय