बैतडी – जिल्लामा डेंगुको जोखिम बढ्दै गएको छ। स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ।
जिल्लाको दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई र मेलौली तथा पाटन नगरपालिकामा एक–एक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ।
वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाम र पाटन बजारमा रोग रोकथाम तथा नियन्त्रणका लागि अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए। अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज र स्थानीय सहभागी थिए। अभियान बुधबार सञ्चालन गरिएको थियो।
यसैबीच, स्थानीय तहहरुले पनि डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन्। दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान चलाउँदै आएको छ।
तीन महिनासम्म सञ्चालन हुने अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकी लगायत सरकारी कार्यालयहरुलाई अनुरोध गरिएको दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले जानकारी दिए।
