सुदूरपश्चिम प्रदेशको अपि नाम्पा संरक्षण क्षेत्रमा पर्ने अपि हिमाल (७,१३२ मिटर) र ल्हायुल पिक (६,३९५ मिटर) मा पहिलो पटक ठूलो संख्यामा आरोहण हुने भएको छ। दार्चुलाको अपि गाउँपालिकामा अवस्थित अपि हिमाल सुदूरपश्चिमकै सबैभन्दा अग्लो हिमाल भए पनि प्रचार–प्रसार, उपयुक्त मार्ग र पूर्वाधार अभावका कारण अहिलेसम्म ओझेलमै परेको थियो।

हालै संघीय सरकारले सुदूरपश्चिम र कर्णालीका ९७ हिमाललाई आगामी दुई वर्षका लागि शुल्क मुक्त गर्दै आरोहण खुला गर्ने निर्णय गरेसँगै यो अभियान अघि बढाइएको हो। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) नेपालको सहकार्यमा सञ्चालित ‘दिगो पर्यटन परियोजना (STP)’ अन्तर्गत नेपाल पर्वतारोहण संघको नेतृत्वमा र अपि गाउँपालिकाको सहकार्यमा ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स’ सञ्चालन भइरहेको छ।

यस अन्तर्गत काठमाडौँमा दुई साताको सैद्धान्तिक तालिमपछि अपि क्षेत्रमा दुई साताको प्रयोगात्मक तालिम दिने तयारी भएको छ। तालिम पूरा गरेका विद्यार्थीहरूले आगामी दिनमा ट्रेकिङ पिक तथा अन्य हिमाल आरोहणमा माउन्टेन गाइड वा सहायक गाइडका रूपमा काम गर्ने अवसर पाउनेछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँमा सहभागी टोलीलाई बिदाइ गर्दै यसलाई सुदूरपश्चिमका लागि ऐतिहासिक अभियानका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यसले स्थानीय समन्वय, सहकार्य र प्रदेशस्तरीय पर्यटन विकासमा टेवा पुग्नेछ।

हाल तालिममा सहभागी १४ जना प्रशिक्षार्थीले अपि हिमाल नजिकैको ल्हायुल पिकमा आफैं बाटो बनाएर आरोहण गर्ने तयारी गरेका छन्। सफल आरोहणपछि प्रशिक्षकसहित ७ जनाले अपि हिमाल आरोहण गर्ने कार्यक्रम छ। साथै, स्थानीय १५ जना ट्रेकिङ गाइडलाई माउन्टेन नेभिगेसन र क्याम्पिङ तालिम पनि दिइनेछ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस कार्यक्रमले सुदूरपश्चिमका ओझेलमा परेका गन्तव्यलाई विश्वमै चिनाउने विश्वास व्यक्त गरेका छन्। उनले सीपयुक्त पर्यटन जनशक्ति विकास, सुविधा सुधार, रोजगारी सिर्जना र दिगो पर्यटन प्रवर्द्धनमा यसले महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय