बैतडी – भदौ २४ गते राति बैतडी कारागारमा भएको आगजनी र तोडफोडपछि भागेका ६२ मध्ये ५२ जना कैदीबन्दी र थुनुवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बाँकी १० जनाको खोजी कार्य जारी छ।
प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार पक्राउ परेकामध्ये चार जनालाई भारततर्फ भाग्ने क्रममा नियन्त्रणमा लिइएको हो। यसका लागि भारतीय सीमासुरक्षा बलसँग समेत समन्वय गरिएको उनले बताए।
संयुक्त अपरेशनमार्फत बैतडीबाट मात्रै नभई अन्य जिल्लाका कारागारबाट भागेका ११ जना समेत पक्राउ परेका छन्। तीमध्ये डडेल्धुराका ६, डोटीका ४ र दार्चुलाका १ जना रहेका छन्।
प्रहरीले अझै फरार रहेका कैदीबन्दीलाई आत्मसमर्पण गर्न आह्वान गर्दै उनीहरू लुकेर बस्न सक्ने स्थानमा खोजी अभियानलाई तीव्रता दिएको जनाएको छ।
