आज देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । असोज ३ गते २०७२ सालमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी भएको घोषणा गर्नुभएको थियो । यस वर्ष संविधान घोषणाको एक दशक पूरा भएको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा बिहान सैनिक मञ्च, टुँडिखेलमा मुख्य कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ ।
हालको राजनीतिक अवस्थामा झाँकीजस्ता गतिविधि कम गरिएका छन् । संविधान कार्यान्वयनपछि हासिल उपलब्धि, कमजोरी तथा समस्याका विषयमा छलफल र अन्तरक्रिया हुने भनिएको थियो । तर पछिल्ला आन्दोलन र जनधनको क्षतिको कारण ती कार्यक्रम कम मात्र हुने भएका छन् ।
संविधान घोषणाको दशक पूरा भएको उत्सवका लागि अघिल्लो सरकारले भदौ ८ गते मूल समारोह समिति गठन गरेको थियो । तर भदौ २३–२४ को जेनेरेशन जेड आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गर्नुभएको थियो ।
