दार्चुला । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज (आश्विन ५ गते, आइतबार) अपराह्नकालमा दिवङ्गत पितृहरूको नाममा तर्पण, सिदादान र पिण्डदान गर्दै समापन हुँदैछ। यो पक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ, किनभने १५ दिनसम्मका तिथिहरूमा श्राद्ध गर्ने परम्परा छ र अन्तिम दिन औँसी तिथिमा विशेष गरी पार्वण श्राद्ध गरिन्छ।
धर्मशास्त्रविद्हरूका अनुसार कुनै कारणवश निर्धारित दिनमा श्राद्ध गर्न नसकिएको खण्डमा आज औँसीमा गर्नुपर्ने मान्यता छ। यदि आज पनि गर्न सकिएन भने आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म, वा कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजाको दिन) मा समेत गर्न सकिने उल्लेख धर्मशास्त्रका ग्रन्थहरूमा पाइन्छ। अझै पनि सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म (मङ्सिर) गर्ने विकल्प रहेको बताइन्छ।
शास्त्रीय मान्यताअनुसार पितृपक्षमा दिवङ्गत आत्माहरू पिण्ड र जलको आशले मर्त्यलोकमा आउने भएकाले यस अवधिमा सन्तानले श्राद्ध, दान र तर्पण गरी श्रद्धापूर्वक सम्झनु आवश्यक ठानिन्छ। यस्ता कर्म नगरेमा पितृ अप्रसन्न हुने र दोष लाग्ने विश्वास धर्मग्रन्थमा पाइन्छ। त्यसैले यो अवधिमा विशेषगरी गोकर्णेश्वर, उत्तरगया, बेत्रावती, देवघाट, त्रिवेणी जस्ता प्रसिद्ध तीर्थस्थलहरूमा श्राद्ध गर्नेहरूको ठूलो भीड लाग्ने गर्छ।
पितृपक्ष समाप्तिसँगै दुर्गापक्ष अर्थात् बडादशैं सुरु हुने परम्परा छ। यसवर्ष घटस्थापना असोज ६ गते सोमबारका दिन पर्छ भने विजयादशमी असोज १६ गते मनाइनेछ।
