दार्चुला : महाकाली नगरपालिका–४ खलंगास्थित महेन्द्र माध्यमिक विद्यालयले आन्तरिक स्रोतमा भर परेर तलब सुविधा पाउँदै आएका १५ जना कर्मचारीलाई भदौ मसान्तदेखि हटाउने निर्णय गरेको छ। विद्यालय व्यवस्थापन समितिको भदौ ३० गतेको बैठकले आर्थिक भार कम गर्ने उद्देश्यले उनीहरूको हाजिर रोक्ने निर्णय गरेको हो।
हटाइएकामध्ये इन्जिनियर सुरेश बोहरा, इन्जिनियर बिरेन्द्र सिंह बडाल, नायब सुब्बा कृष्ण राज जोशी, नायब सुब्बा देव सिंह ठगुन्ना, कम्प्युटर सहायक यादव राज खत्री, खरिदार भुवना सामन्त ऐरी, तनुजा पुजारा, कविता भट्ट, कार्यालय सहयोगी रमेश जोशी, संगीता ऐरी, पाले जनक सिंह ऐरी, हरक राम ओड, आया गोमती अवस्थी, सरसफाईकर्मी भागरथी लोहार र नारा लोहार छन्।
विद्यालय निःशुल्करूपमा सञ्चालनमा रहेकाले थप खर्च कटौती गर्न बाध्य भइएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। यस्तै, सोही बैठकले ४ शिक्षक र ३ जना दिवा खाजामा संलग्न कर्मचारीको म्याद भने चैत मसान्तसम्म कायम राख्ने निर्णय गरेको छ।
