दार्चुलाको शैल्यशिखरनगरपालिका–९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारत सरकारबाट आर्थिक सहयोग प्राप्त हुने भएको नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य बासुदेव ऐतवालले जानकारी दिए ।
भारतको काठमाडौंस्थित दूतावास (विकास साझेदारी तथा पुनर्निर्माण शाखा)का काउन्सिलर अविनाश कुमार सिंहले २०२५ अक्टोबर ६ मा नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको पत्रमार्फत भारत सरकारले उक्त विद्यालय निर्माणका लागि वित्तीय स्वीकृति दिएको नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य ऐतवालले बताए । रु. १५ करोड ३ लाख १८ हजार ३१८ रुपैयाँ भारतीय दुतावासले व्यहोर्ने र साे रकमको १० प्रतिशत लागत शैल्यशिखर नगरपालिकाले व्यहोर्नेछ।
उक्त परियोजना नेपाल सरकार र भारत सरकारबीच सन् २०२४ जनवरी ४ मा हस्ताक्षर भएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project – HICDP) अन्तर्गत कार्यान्वयन हुने बताइएको छ। पत्रमा परियोजना कार्यान्वयनका लागि नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास, र शैल्यशिखर नगरपालिका बीच सम्झौता पत्र (MoU) छिट्टै हस्ताक्षर गर्न अनुरोध गरिएको छ।
विगतमा पनि दार्चुला जिल्लामा नेपाल भारत मैत्री संघको पहलमा भारत सरकारको सहयोगमा विभिन्न विद्यालय भवन,स्थानीय तहमा एम्बुलेन्स हस्तान्तरण आदि कार्य गरिएको नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य बासुदेव ऐतवालले बताए ।

