कैलाली — कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा एक युवकको घाँटी रेटी बीभत्स हत्या गरिएको छ। २८ वर्षीय केशरबहादुर बुढाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेशदत्त अवस्थीका अनुसार शुक्रबार राति खाजा खाने क्रममा आपसी विवाद चर्किएपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनापछि मृतकको टाउको छिनाएर बोकी सुखडस्थित प्रतिखेत प्रहरी पोष्टतर्फ जाँदै गर्दा दुवै जना पक्राउ परेका हुन्। मृतकको शरीर घटनास्थलमै रहेको र टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको प्रहरीले जनाएको छ।
यस घटनाले सम्पूर्ण स्थानीय क्षेत्रमा त्रास र सनसनी फैलिएको छ। प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।
