धनगढी-  विश्व हिन्दू परिषद् नेपाल (विहिप) सुदूरपश्चिम प्रदेशले सङ्गठन विस्तारका क्रममा दार्चुला र बैतडी जिल्लामा विभिन्न तहका समितिहरू गठन गर्दै आफ्नो गतिविधि सशक्त बनाएको छ। मङ्सिर ५ र ६ गते दुई दिनसम्म चलेका कार्यक्रमहरूमा जिल्ला स्तरदेखि नगर स्तरसम्मका नयाँ पदाधिकारी चयन गरिएको छ।

दार्चुला जिल्लामा सम्पन्न पहिलो कार्यक्रम सम्पन्न भएको र यसै क्रममा विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्ला कार्य समिति गठन गरिएको विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेश संयोजक महेन्द्रराज पन्तले जानकारी दिए। दार्चुला जिल्लाको जिल्ला कार्य समितिको अध्यक्षमा दीर्घ अनुभवका शिक्षा सेवी तथा पूर्व–प्रधानाध्यापक रामदत्त जोशी सर्वसम्मत रूपमा चयन भएका छन्।

त्यसै गरी, स्थानीय सङ्गठन बिस्तार को लक्ष्यसहित जिल्लाको शैल्यशिखर नगरपालिका कार्य समिति पनि गठन गरिएको छ। नगर समितिको अध्यक्षमा पूर्व–शिक्षक गणेशराज जोशी निर्वाचित भएका छन्। स्थानीय स्तरमा धार्मिक सचेतना, सामाजिक सेवा र युवालाई सकारात्मक मार्गदर्शन गर्ने उद्देश्यसहित यो समिति गठन गरिएको बताइएको छ।

सङ्गठन विस्तारको दोस्रो चरणमा बैतडी जिल्ला पाटन नगरपालिका कार्य समिति गठन गरिएको छ। नगर समितिको अध्यक्षमा स्थानीय व्यवसायी तथा सामुदायिक अभियानमा सक्रिय व्यक्तित्व पदमराज पन्तलाई जिम्मेवारी दिइएको छ। पन्तको नेतृत्वमा पाटन क्षेत्रमा परिषद्का कार्यक्रमहरू अझ सुदृढ हुने अपेक्षा व्यक्त गरिएको छ।

यी दुवै कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय सङ्गठन सचिव श्री प्रह्लाद कुमार रेग्मी रहेका थिए। रेग्मीले परिषद्को उद्देश्य, सङ्गठनात्मक अनुशासन, सांस्कृतिक पहिचान संरक्षण र समाजमा सकारात्मक नेतृत्व निर्माणमा परिषद्को भूमिकाबारे विस्तृत रूपमा मार्गदर्शन गरेका थिए।

कार्यक्रमहरूको समग्र सञ्चालन तथा संयोजन विहिप सुदूरपश्चिम प्रदेश अध्यक्ष महेन्द्रराज पन्तको अध्यक्षतामा सम्पन्न भएका हुन् । उनले प्रदेशभरि परिषद्का शाखा र समितिहरू सुदृढ बनाउने अभियान अन्तर्गत दार्चुला र बैतडी अत्यन्त महत्त्वपूर्ण जिल्ला रहेको बताए।

उनका अनुसार “नयाँ समितिहरूले धार्मिक, सांस्कृतिक संरक्षण मात्र होइन, समाजमा राष्ट्रभक्ति पूर्ण भावनाको प्रसार, सामाजिक सेवा, र युवा परिचालनमा विशेष योगदान दिनेछन्।”

दुवै जिल्लामा सम्पन्न कार्यक्रममा प्रदेशका पदाधिकारी, स्थानीय बुद्धिजीवी, शिक्षक, व्यवसायी, महिला तथा युवा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो। समापनमा नयाँ पदाधिकारीहरूले सङ्गठनका सिद्धान्तअनुसार इमानदार, सक्रिय र पारदर्शी ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रदेश अध्यक्ष पन्तले बताए ।

यससँगै सुदूरपश्चिम प्रदेशमा विश्व हिन्दू परिषद् नेपालको सङ्गठनात्मक संरचना अझ दह्रो बनेको समेत उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय