दार्चुला । नेपाली काङ्ग्रेस प्रतिको उत्साह बढ्दो देखिएको छ । नेपाली काङ्ग्रेस दार्चुलाले वितरण गरेको क्रियाशिल सदस्यताका लागि नविकरण भएका फारामहरुको सङ्ख्याका आधारमा काङ्ग्रेस पार्टी प्रति जनतामा उत्साह देखिएको हो ।
काङ्ग्रेस दार्चुलासँग रहेका ४ हजार ४७५ जना क्रियाशिल सदस्य मध्ये हाल सम्म (मङ्सिर २८ गते आज) सम्म ३ हजार ४५७ जनाले क्रियाशिलका लागि फाराम भरेर जिल्ला कार्यसमितिलाई बुझाएको जिल्ला सभापति ललितसिंह बोहराले जानकारी दिनुभयो ।
थप क्रियाशिल सदस्यताका लागि १ हजार ८०० क्रियाशिल फारामहरु जिल्ला समिति, गाउँसमिति र वडासमिति मार्फत वितरण गरिएको तथा फाराम भर्ने क्रम जारी रहेको उहाँले बताउनुभयो । क्रियाशिल सदस्यताका लागि अगामी पौष पाँच गते सम्मको समय रहेको सभापति बोहराले जानकारी दिनुभयो ।“क्रियाशिल सदस्य सङ्ख्याका आधारमा नेपाली काङ्ग्रेस पार्टी प्रति यहाँका जनताको उत्साह बढ्दो देखिन्छ, जनताको मन जितेर सबै नेताहरुले राजनिति गर्नुपर्छ, पार्टी सभापति बोहराले भन्नुभयो ।”
विगतको भन्दा यसवर्ष क्रियाशिल सदस्यको सङ्ख्यामा अझै बृद्धि हुने अनुमान गरेको उहाँले बताउनुभयो ।
सभापति बोहराले जेन–जी आन्दोलनपछि देशमा सिर्जित विषम परिस्थिती र युवाहरुका मागका आधारमा पार्टी भित्र हुन लागेको पार्टी महाधिवेशन मार्फत जिल्लालाई नयाँ कार्यसमिति दिनुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । मङ्सिर २५ गते जिल्ला सदरमुकाम खलङ्गामा भएको पार्टीको बैठकपछि आफ्ना धारणाहरु राख्दै आज सभापति बोहराले पार्टी महाधिवेशनको तयारीका बारेमा समेत जानकारी गराउनुभएको छ ।
उहाँले महाधिवेशन सम्पन्न गर्ने सन्दर्भमा पार्टी भित्र बृहतरुपमा छलफल भइरहेको तथा वडा, पालिका, प्रदेश र जिल्लामा स्तरमा हुने महाधिवेशन मार्फत सबै पदहरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभयो । सर्वसम्मतीका लागि एउटा छुट्टै समिति गठन गरिने समेत उहाँले बताउनुभयो । “पार्टीलाई गोलबद्ध गरेर अगाडी बढ्ने कुरामा सबै नेता कार्यकर्ता साथीहरु सहमत छौं, सभापति बोहराले भन्नुभयो ।” पार्टी फुटेर होइन, जुटेर चल्छ उहाँले थप्नुभयो ।
