धनगढी, १० जेठ / सुदूरपश्चिमका युवाका साझा सवाल, माग र प्रतिबद्धता समेटिएको ६ बुँदे घोषणापत्र जारी गर्दै “सुदूरपश्चिम प्रदेश युवा सम्मेलन २०२६” सम्पन्न भएको छ। दुई दिनसम्म धनगढीमा सञ्चालन भएको सम्मेलनको समापन समारोह सुदूरपश्चिम प्रदेशसभा सामाजिक विकास समितिका सभापति धर्मराज पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
समापन समारोहको सभाध्यक्षता गैरसरकारी संस्था महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवी प्रसाद खनालले गरेका थिए। सम्मेलनमा सुदूरपश्चिमका नौवटै जिल्लाबाट सहभागी युवाहरूको सहभागिता रहेको थियो।
दुई दिने सम्मेलनबाट सार्वजनिक गरिएको ६ बुँदे घोषणापत्रमा डिजिटल सुरक्षा र जिम्मेवार प्रविधि प्रयोग, शिक्षा तथा समावेशी पहुँच, स्वास्थ्य र मानसिक स्वास्थ्य, आर्थिक अवसर तथा रोजगारी, जलवायु न्याय र वातावरण तथा सहभागिता र सुशासनका विषयलाई प्राथमिकतामा राखिएको छ। घोषणापत्रमा सुदूरपश्चिमका युवाहरूका साझा माग, सुझाव र प्रतिबद्धताहरू समेटिएका छन्।
सम्मेलनका निष्कर्षलाई एकीकृत गर्दै “सुदूरपश्चिम घोषणा पत्र” पत्रकार सम्मेलन गरी सार्वजनिक समेत गरिएको छ। उक्त घोषणा पत्रमार्फत युवाका मुद्दालाई नीति निर्माण तहसम्म पुर्याउने लक्ष्य लिइएको देखिन्छ।
यस्तै सम्मेलनबाट सुदूरपश्चिम स्तरीय सीएसओ कमिटी गठन गरिएको छ। कमिटीको संयोजकमा बाजुराका युवा टेक साउद चयन भएका छन् भने सहसंयोजकमा कञ्चनपुरकी दुर्गा बढुवाल र सदस्य सचिवमा बझाङका कपिल बिष्ट सर्वसम्मत चयन भएका छन्। अन्य जिल्लाबाट एक-एक जना युवालाई कार्यसमिति सदस्यमा चयन गरिएको आयोजकले जनाएको छ।
गैरसरकारी संस्था महासङ्घ नेपाल, युवा अभियान तथा विभिन्न साझेदार संस्थाको सहकार्यमा आयोजित सम्मेलन जेठ ९ र १० गते धनगढीमा सम्पन्न भएको हो।
