धनगढी / कैलालीको धनगढी उपमहानगर क्षेत्रमा पछिल्ला दिनहरूमा बारम्बार विद्युत् जाने र कम भोल्टेज (डिमलाइट) को समस्या बढ्दै गएपछि स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ।
स्थानीयका अनुसार दिनभरजसो विद्युत् अनियमित हुने, कहिले जाने त कहिले आउने समस्या देखिँदा घरायसी कामदेखि लिएर व्यवसायिक गतिविधिसमेत प्रभावित भएका छन्। विद्युत् आए पनि पर्याप्त भोल्टेज नहुँदा पङ्खा, फ्रिज, मोबाइल चार्जरलगायत विद्युतीय उपकरणहरू ठीकसँग नचल्ने समस्या देखिएको छ।
विशेषगरी गर्मी मौसममा डिमलाइटका कारण पङ्खा नचल्दा घरभित्र बस्नसमेत कठिन हुने गरेको उपभोक्ताहरूको गुनासो छ। विद्युत् कमजोर हुँदा अध्ययन गर्ने विद्यार्थीहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
यसैबीच विध्यार्थी पवित्रा अवस्थीले विद्युत् समस्याका कारण आफ्नो पठनपाठनमा गम्भीर असर परेको बताएकी छन्। उनका अनुसार घरभित्र बसेर पढ्दा पङ्खा नचल्ने भएकाले अत्यधिक गर्मी हुने समस्या छ भने बाहिर पढ्न जाँदा लामखुट्टेले टोक्ने कारण ध्यान केन्द्रित गर्न नसकिने अवस्था रहेको छ।
स्थानीयले विद्युत् आपूर्तिको नियमितता र गुणस्तर सुधार गर्न सम्बन्धित निकायसँग तत्काल माग गरेका छन् ।
