दार्चुला – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली सेनाको सुदूरपश्चिम पृतनाको नयाँ नेतृत्व सम्हाल्नुभएका उपरथी पवन खत्रीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले जिम्मेवारी हस्तान्तरण गरी बिदाइ हुनुभएका उपरथी किरण केसीलाई सम्मानपूर्वक विदाइ गर्दै उहाँले आफ्नो कार्यकालमा पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभयो।
उहाँले उपरथी केसीले आफ्नो कार्यकालभरि व्यावसायिक दक्षता, अनुशासन र प्रतिबद्धताका साथ जिम्मेवारी निर्वाह गर्दै सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था सुदृढ बनाउन, विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न तथा प्रदेश सरकारसँगको समन्वय र सहकार्यलाई थप मजबुत बनाउन उल्लेखनीय योगदान पुर्‍याएको बताउनुभयो।
मुख्यमन्त्री शाहले प्रदेश सरकार र नेपाली सेनाबीचको आपसी समन्वय तथा सहकार्य उदाहरणीय रहेको उल्लेख गर्दै यस सम्बन्धलाई आगामी दिनमा अझ प्रभावकारी, परिणाममुखी र सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभयो।
उहाँले नवआगन्तुक पृतनापति उपरथी पवन खत्रीको नेतृत्वमा प्रदेशको शान्ति–सुरक्षा सुदृढीकरण, विपद् जोखिम न्यूनीकरण तथा उद्धार, पूर्वतयारी, विकास निर्माण र जनसेवासँग सम्बन्धित विभिन्न क्षेत्रमा नेपाली सेना र प्रदेश सरकारबीचको सहकार्य थप विस्तार र सशक्त हुने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रममा मुख्यमन्त्री शाहले उपरथी पवन खत्रीलाई सफल कार्यकालको शुभकामना दिँदै उहाँको नेतृत्वमा सुदूरपश्चिम पृतनाले प्रदेशको सुरक्षा र विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको थियो। साथै बिदाइ हुनुभएका उपरथी किरण केसीको भावी कार्यजीवनको सफलताको कामना गर्दै उहाँले प्रदेशवासीका तर्फबाट धन्यवादसमेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय