दार्चुला – नेपाली सेनाले दुर्गम तथा जटिल भौगोलिक बनावट भएका क्षेत्रमा ३२ वटा सडक आयोजना सम्पन्न गर्दै हालसम्म १ हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको जनाएको छ। राष्ट्रिय गौरव तथा रणनीतिक महत्वका सडक आयोजनाहरू सफलतापूर्वक सम्पन्न गर्दै सेनाले दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न उल्लेखनीय योगदान पुर्‍याएको हो।
सेनाको व्यवस्थापनमा कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा सडक, बेँसीसहर–चामे सडक, कालीगण्डकी करिडोर र कर्णाली करिडोर लगायतका महत्वपूर्ण आयोजना सम्पन्न भइसकेका छन्। सरकारले कठिन भौगोलिक बनावट, कडा चट्टानयुक्त भिर तथा निर्माण गर्न चुनौतीपूर्ण मानिएका सडक आयोजनाको जिम्मेवारी नेपाली सेनालाई दिँदै आएको छ।
सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार सीमित स्रोतसाधन, प्रतिकूल मौसम र अत्यन्त जटिल भू–बनोटका बाबजुद नेपाली सेनाले राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्दै वार्षिक ‘माइलस्टोन’ लक्ष्य शतप्रतिशत हासिल गरेको छ। उहाँका अनुसार यसले राष्ट्र निर्माणमा सेनाको महत्वपूर्ण योगदानलाई थप पुष्टि गरेको छ।
पूर्वी नेपालको रणनीतिक महत्वको खाँदबारी–किमाथाङ्का (च्याम्ताङ–घोङ्घप्पा) सडक आयोजनाअन्तर्गत सेनाले १०.५१ किलोमिटर सडक निर्माण सम्पन्न गरी गत वैशाख २८ गते सडक विभागलाई हस्तान्तरण गरिसकेको छ। यस आयोजनाले किमाथाङ्का क्षेत्रमा स्थानीय विकाससँगै भविष्यमा व्यापारिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
हाल नेपाली सेनाले कर्णाली करिडोर, दार्चुला–टिङ्कर तथा बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ गरी तीन प्रमुख सडक आयोजना निर्माण गरिरहेको छ।
महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर (तुषारपानी–टिङ्कर) सडक आयोजनामा ७९ किलोमिटर सडक निर्माणको जिम्मेवारी सेनाले सम्हालेको छ। अत्यन्त कठिन हिमाली भूभाग, कडा चट्टानयुक्त भिर र प्रतिकूल मौसमका बीच आर्थिक वर्ष २०८२/८३ मा १९.८० किलोमिटर सडक निर्माण सम्पन्न गर्दै वार्षिक लक्ष्य शतप्रतिशत पूरा गरिएको छ। हालसम्म आयोजनाको समग्र भौतिक प्रगति २५.०६ प्रतिशत पुगेको छ।

त्यसैगरी बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाअन्तर्गत मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने ९२ किलोमिटर जिम्मेवारीमध्ये हावाडाँडा–दोभान (१८ किमी) सडकखण्ड निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिएको छ। आर्थिक वर्ष २०८२/८३ सम्म यस आयोजनामा ४०.८ किलोमिटर (४४.३५ प्रतिशत) भौतिक प्रगति हासिल भएको सेनाले जनाएको छ।
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर पनि सेनाले निर्माण गरिरहेको प्रमुख सडक आयोजना हो। हुम्लाको हिल्सादेखि बाँकेको जमुनाहासम्म फैलिएको ६८२ किलोमिटर लामो यस करिडोरअन्तर्गत लालीबगर–दुल्लिकुन्ना तथा घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला गरी २२.०५ किलोमिटर सडक निर्माण भइरहेको छ। लालीबगर–दुल्लिकुन्ना खण्डको ट्र्याक निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकिएको छ भने अर्को खण्डमा निर्माण कार्य जारी छ। आर्थिक वर्ष २०८२/८३ सम्म १९ किलोमिटर सडक निर्माण सम्पन्न भई समग्र आयोजनाको भौतिक प्रगति ८६.१७ प्रतिशत पुगेको छ।
यसै क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा गत असार २२ गते बेलिब्रिज जडान गरिएको थियो। यसले हिल्सा–सिमकोट सडकमार्फत हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने तथा आर्थिक एवं सामरिक महत्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
संविधानप्रदत्त जिम्मेवारीअनुसार नेपाली सेनाले दुर्गम तथा रणनीतिक महत्वका सडक आयोजनामा नयाँ ट्र्याक निर्माण, स्तरोन्नति, आवश्यक पूर्वाधार विकास तथा सम्बन्धित निकायलाई हस्तान्तरणसम्मका कार्य निर्धारित मापदण्डअनुसार गर्दै आएको जनाएको छ।
सेनाका अनुसार यी सडक आयोजनाको प्रमुख उद्देश्य दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नु, सामाजिक तथा आर्थिक विकासलाई गति दिनु, व्यापार र पर्यटन प्रवर्द्धन गर्नु, विपद् व्यवस्थापनमा सहज पहुँच विस्तार गर्नु तथा राष्ट्रिय सुरक्षालाई दीर्घकालीन रूपमा सुदृढ बनाउनु हो।
नेपाली सेनाले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै कठिन र चुनौतीपूर्ण भूभागमा समेत विकास निर्माणका जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्दै राष्ट्रले सुम्पिएको दायित्व प्रभावकारी रूपमा निर्वाह गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय