दार्चुला, साउन ३१ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाकाली नगरपालिका समितिको बैठक नगर कार्यसमिति सभापति परमानन्द बडुको अध्यक्षता र जिल्ला सभापति राजेश सिंह सामन्त लगायत जिल्लाका नेताहरूको उपस्थितिमा सम्पन्न भएको छ। बैठकले स्थानीय जनताका समस्या तथा विकाससँग सम्बन्धित विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गरेको रास्वपा दार्चुलाका संगठन विभाग उपप्रमुख अनिल जोशीले जानकारी दिएका छन् ।
संगठन विभाग उपप्रमुख जोशीले बताए अनुसार बैठकले महाकाली नगरपालिकाका सबै ९ वटै वडामा जनसम्वाद कार्यक्रम सञ्चालन गरी स्थानीय नागरिकका समस्या, गुनासा तथा सुझाव संकलन गर्ने तथा संकलित विषयवस्तुलाई सम्बन्धित निकायमा प्रस्तुत गर्दै समाधानका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ।
त्यसैगरी, महाकाली नगरपालिकाले चालु आर्थिक वर्षका लागि सञ्चालन गर्ने कार्यक्रम तथा योजनासम्बन्धी लिखित जानकारी उपलब्ध गराइदिन माग गर्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाउने निर्णय पनि बैठकले गरेको छ।
यस्तै, संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै महाकाली नगरपालिकाका सबै ९ वटै वडा समितिको बैठक छिट्टै आह्वान गर्ने निर्णय बैठकले गरेको छ।
नगर समितिले यी निर्णयहरू कार्यान्वयन गर्दै स्थानीय जनताका आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउने र सुशासन, पारदर्शिता तथा जनउत्तरदायी स्थानीय शासन प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
