दार्चुला, मंसिर १६ । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले दार्चुलाको खलंगा–खार–देथला सडक खण्डको स्थलगत अनुगमन गर्नुभएको छ । प्रदेश गौरवको योजनाअन्तर्गत रहेको खलंगा–खार–देथला सडक खण्डको बिहीबार मन्त्री सोडारीसहित प्राविधिकहरूको टोलीले स्थलगत अनुगमन गरेका हुन् ।
उक्त सडक साढे १६ करोडको लागतमा निर्माण भइरहेको पूर्वधार विकास कार्यालय बैतडीका प्रमुख रामचन्द्र खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सडकको निर्माण सम्पन्न गर्न तीन वर्षे सम्झौता भएको छ ।
यो वर्ष साढे ८ किलोमिटर सडक खण्डको ग्राभेल गर्न साढे ३ करोड बजेट विनियोजन भएको खत्रीले बताउनुभयो । सडक ग्राभेल गर्न सिएडी ग्वालेक जेभी सँग सम्झौता भएको छ । सदरमुका खलंगादेखि अहिले काटैसम्मको विभिन्न ठाउँमा सडक चौडा बनाउने तथा ग्राभेल गर्ने कार्य अघि बढेको छ ।
अनुगमनका क्रममा मन्त्री सोडारीले निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन निर्देशनसमेत दिनुभएको छ । खलंगा खार हुँदै गोकुलेश्वर जोड्ने सडक निर्माणसम्पन्न पश्चात अहिलेको महाकाली लोकमार्ग भन्दा आधा कम सडक हुनेछ । यो सडकले महाकाली नगरपालिका, नौगाड गाउँपालिका, र शैल्यशिखर नगरपालिकालाई जोड्ने गर्दछ ।
मन्त्री सोडारीले सडक अनुगमन पछि सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै निर्माण कार्यलाई तिव्रता दिने गरी कार्य गर्न निर्देशन दिएको बताउनुभयो । उहाँले दार्चुलाको त्रिदेशीय नाका व्याँसको विकासको लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने बताउनुभयो ।
यसैबीच मन्त्री सोडारीले सदरमुकाम खलंगामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको पार्टी कार्यालयको उद्घाटन गर्नुभएको छ । नेकपा एस दार्चुलाका अध्यक्ष बीरबहादुर ठगुन्नाको अध्यक्षता तथा मन्त्री सोडारीको प्रमुख आतिथ्यमा पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो ।
यस्तै मन्त्री सोडारीले नेकपा एस दार्चुलाको विस्तारित जिल्ला बैठकलाई सम्बोधन गर्नुभएको छ । बैठकलाई सम्बोधन गर्दै मन्त्री सोडारीले जिल्लामा पार्टी संगठन विस्तार, सबै पालिकामा कमिटी विस्तार गर्न निर्देशन गर्नुभएको छ । मन्त्री सोडारी बिहीबार नै धनगढी फर्किनुभएको छ । सारथी खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय