
दार्चुला, मंसिर १८ । महाकाली नगरपालिका अन्तरगतको सामुदायिक विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक संघर्ष समितिले मंसिर २० गते देखी चरणबद्ध रुपमा संघर्षका कार्यक्रम गर्ने जनाएको छ । संघिय सरकारले २०७८÷७९ को बजेट भाषण तथा कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८÷७९ मा उल्लेख गरे अनुसारको मासिक तलब भत्ता स्थानिय तहबाट निकासा नभएको भन्दै उनिहरुले चरणबद्ध संघर्षका कार्यक्रमहरु गर्ने बताएका छन् ।
सामुदायिक विद्यालय कर्मचारी तथा बालविकास शिक्षकको आज बसेको नगर भेलाले स्थानिय सरकार महाकाली नगरपालिकालाई माग पुरा गर्न १४ दिने समयसिमा दिएको तथा माग प्रति कुनै पनि चासो नदिएको भन्दै चरणबद्ध रुपमा संघर्षका कार्यक्रमहरु गर्ने निर्णय गरेको अध्यक्ष गजेन्द्र ग्वाइलाले जानकारी दिनुभयो ।
भेलाले मंसिर २० गते विहान १० बजे ४ बजे सम्म स्थानियको हातामा कालो पट्टी बाँधी धर्ना दिने, मंसिर २१ गते मैनबत्ती जुलुस, मंसिर २२ गते घण्टि जुलुस र मंसिर २३ गते तालाबन्दि गरी संघर्षका कार्यक्रमहरु गर्ने जनाइएको छ । सरकारले सामुदायिक विद्यालय कर्मचारी तथा बालविकास शिक्षकलाई मासिक केन्द्र सरकारको तर्फबाट रु २ हजार र स्थानिय सरकारले ७ हजार थप गरेर तलब भत्ता उपलब्ध गराउने बजेट भाषण गरेको थियो ।