काठमाडौं, मंसिर २१ । सरकारले स्थानीय तहका १ हजार ६ सय जनाभन्दा बढी कर्मचारीको काज सरुवा गरेको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका १,६१३ जना कर्मचारीको काज सरुवाको निर्णय मंगलबार सार्वजनिक गरेको हो ।
‘स्थानीय तहमा कार्यरत र अपायक भएका कर्मचारीहरुलाई उनीहरुको निवेदनका आधारमा कामकाज गर्नेगरी अर्को स्थानीय तहमा खटाउने निर्णय भएको हो’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले भने, ‘निवेदन दिएकाहरुमध्ये मापदण्ड पुगेकाहरुको हकमा निर्णय भएको हो ।
’उनका अनुसार स्थानीय तहका कर्मचारीहरुको सरुवासम्बन्धी कानूनी व्यवस्थाको अभावका कारण अहिले अन्तर स्थानीय तह कामकाजमा खटाइएको भनी निर्णय भएको छ ।
नयाँ संविधान जारी भएपछि लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भई नियुक्त भएका स्थानीय तहका कर्मचारीहरुलाई मात्रै मन्त्रालयले सरुवा गरेको हो । सरुवा भएर हिड्ने र जाने दुवै स्थानीय तहको सहमतीमा मात्रै काजको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
मापदण्ड पूरा नगरेकाहरुलाई सरुवा नगरिएको मन्त्रालयले जनाएको छ । निवेदन दिएपनि सरुवाको निर्णय नभएका कर्मचारीहरुको हकमा कारणसहित निर्णय भएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । अनलाईन खबर