
बैतडी ४ माघ । बैतडीको सुर्नया गाउँपालिका ६ खर्काधारका डम्मर अवस्थीको हत्यामा संलग्न सबैलाई कानुनी दायरमा ल्याएर कारवाही गर्नुपर्ने माग राख्दै विप्लव नेतृत्वको माओवादी द्धारा प्रदर्शन जारीे छ । नेकपाले पीडित परिवारलाई क्षतिपूर्ती दिनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने र हत्यामा संलग्न सबैलाई कानुनी कारवाही गर्नुपर्ने माग राख्दै प्रदर्शन गर्दै आएको छ ।
आज जिल्लाको सतबाँझमा प्रदर्शन गरिएको नेकपाका जिल्ला सचिव रामसिंह कुँवरले बताउनुभयो । डम्मरको सामूहिक हत्या भएकाले हत्याराहरु सबै पत्ता नलाग्दा सम्म आन्दोलन जारी रहने उहाँले बताउनुभयो ।
डम्मरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका हरिश अवस्थी र नवराज अवस्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरु दुवै जनाले हत्यामा संलग्न भएको स्वीकार गरिसकेका छन् ।
डम्मरका आफन्तले भने अझै शव पनि शव बुझेका छैनन् । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । डम्मर विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुन् ।