दार्चुला ९ माघ । सहमति विपरीत भारतले महाकाली नदीमा पक्की तटबन्ध निर्माण गर्न थाले पछि  जिल्ला प्रसासन कार्यालय दार्चुलाले गृहमन्त्रालयलाई  यो बारे पत्राचार गरेको छ । बिना जानकारी सदरमुकाम खलंगा बजारको पारीपट्टी भारतले तटबन्ध निर्माण गर्न थाल्दा गृहमन्त्रालयलाई पत्राचार गरेको दार्चुलाका प्रमुख जिल्ला  अधिकार दीर्घराज उपाध्यायले जानकारी दिए ।  भारतीय पक्षले खलंगाको पुलघाटदेखि तल्लो क्षेत्रमा करिब दुईदेखि पाँच मिटर नदीतिरको भागमा तटबन्ध निर्माण सुरु गरेको हो । नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध बनाउन थाले पनि भारतले नेपाली प्रशासनसँग समन्वय नगरेको उपाध्ययले जानकारी दिए ।

भारतीय केन्द्रीय जल विभागले माघ ४ गते बाट आफ्नो भूभागतर्फ पुलघाटदेखि एक किलोमिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण सुरु गरेको हो । अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न नपाउने भएपनि भारतले आफूखुसी तटबन्ध निर्माण गरिरहेको हो ।

नेपाल–भारतबीच यसअघि आफूखुसी तटबन्ध नबनाउने सहमति भइसकेको छ । तटबन्ध निर्माण गर्दा भारतीय पक्षले समन्वय नगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।भारतले आफ्नो मनमानी ढङ्गले काम गरिरहेको गृहमन्त्रालयलाई जानकारी गराइसकेको भन्दै उपाध्यायले तत्काल कुटनैतिक पहल भइ समाधान हुने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय