दार्चुला । जिल्ला सदरमुकाम खलंगामा हाहाकार भइरहेको खानेपानी सुचारु गर्न नेपाल कम्युनिष्ट पार्टी एमालेले जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापन दिएको छ । खलंगामा लगातार करिव दुई हप्ता जति खानेपानी आपुर्ती बन्द भएको भन्दै यथाशिघ्र खानेपानीको आपुर्ती गर्न ज्ञापन मार्फत सम्बन्धित निकायलाई पार्टीले माग गरेको छ । सदरमुकाम जस्तो संवेदनशिल ठाउँको खानेपानी अबरुद्ध हुँदा समेत सरोकारवाला मौन बसेको प्रति दुखः व्यक्त गरिएको छ ।
सदरमुकाममा खानेपानी अभावकै कारण महाकाली नदिमा नुहाउने क्रममा ब्याँस गाउँपालिकाका एक युवकको ज्यान गएको प्रति दुखः व्यक्त गर्दै उचित क्षतिपुर्तिका लागी सम्बन्धित पक्ष संग जोडदार रुपमा माग गरेको ज्ञापनमा भनिएको छ । खानेपानी आपुर्ती बन्द हुँदा महाकाली नदि दुर्गन्धित हुदै गएको पनि ज्ञापनमा उल्लेख छ ।
खानेपानी सुचारु गर्न आफ्नो पार्टीका नेता कार्यकर्ताहरु खानेपानी अबरुद्ध भएको स्थान महाकाली नगरपालिका–३ मालबेला पुगेर तत्काल मर्मतका लागी हारगुहार गर्दा समेत सुने नसुनेको जस्तो गरेको ज्ञापनमा भनिएको छ । यो विषय जस्ताको तस्तै रहीरहे आफुहरुको पार्टी चुप लागेर नबस्ने तथा थप आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने समेत ज्ञापन मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गरीएको छ ।
उक्त ज्ञापनको बोदार्थ महाकाली नगरपालिका, खलंगा बृहत खानेपानी तथा सरसफाई समिति र खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय दार्चुलालाई पठाइएको छ । महाकाली नगरपालिका–३ मालबेला क्षेत्रमा सडक निर्माणका क्रममा खानेपानीका पाइप टुटेपछि जिल्ला सदरमुकाम खलंगामा विगत केहि दिन देखी खानेपानी आपुर्ती बन्द भएको छ ।