
प्रेमराज जोशी दार्चुला । मुख्य मन्त्री नमुना गाउँ कृषि विकास कार्यक्रम संचालक समितीले श्रमिकको श्रम शोषण गरेको छ । आर्थिक बर्ष २०७७÷०७८ को वार्षिक स्विकृत कार्यक्रम अनुसार जिल्लाको दुहुँ गाउँपालिका वडा नम्वर ५ छनोट भएको थियो । सो कार्यक्रमका संचालक समिति अध्यक्ष ललितराम पार्की लगायतको समितिले आफुहरुको श्रम शोषण गरेको श्रमिकहरुले वताएका छन ।
श्रमिक जमन सिह कार्कीका अनुसार आफुहरुलाई घाटा भएको भन्दै समितिले प्रति दिनको प्रतिब्याक्ति १ सय ७५ रुपैयाँका दरले वुझाउन आएको र आफुहरुले नवुझि दुहुँ गाउँपालिकाको न्यायिक समितिमा मुद्धा गरेको जानकारी दिए ।
गाउँपालिकाको न्यायिक समितिले सम्वन्धित ब्याक्तिहरुलाई कार्यालयमा बोलाई छलफल गरी र सरकारी दररेट अनुसार श्रमिकहरुको ज्याँला भुक्तानि गर्ने फैसला गरेको थियो ।
फैसला भएको पनि ३५ दिन भन्दा बढी नाघि सक्दा समेत श्रमिकहरुले ज्याँला नपाएको वुझ्नमा आएको गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशीले जानकारी दिए ।
५२ जना श्रमिकहरुले सामुयिक हस्ताक्षर गरी न्यायिक समितिलाई निवेदन गरेको श्रमिक कार्कीले सिद्धटोपी खबरलाई जानकारी दिए । यो बिषयमा समितिका सचिव भुपेन्द्र बडाललाई फोन सम्पर्क गरी वुझ्दा समितिले कुनै भ्रष्टाचार नगरेको र कृषि ज्ञान केन्द्र दार्चुलाले कामको मुल्याङकन घटाएर विल भुक्तानी गरेकाले आफुहरुले श्रमिकहरुलाई सो ज्याला दिन बाध्य भएको जानकारी दिए । केहि श्रमिकहरुले सोही रकममा आफुले गरेको मजदुरी वाफत पैसा लगिसकेको वताउँदै केहि श्रमिकहरुले सरकारी दररेट अनुसार नै भुक्तानी हुनु पर्ने भन्दै न्यायिक समितिमा मुद्धा दर्ता गरेको जानकारी दिए ।
केहि कामदारहरुले पाटी गत रुपमा समितिले श्रमिकहरुको ज्याँला मजदुरी वितरण गरेको आरोप समेत लगाएका छन । जमन सिह कार्की र मानसिह कार्कीको वुझाई आफु नेपाली कांग्रेस निकट कार्यकर्ता भएको हिसावले आफुहरुलाई पारिश्रमिक पनि कम दिएको भन्ने छ । समितिमा नेकपा माओबादी र एमाले निकट कार्यकर्ताहरु मात्रै समावेश भएको बुझ्नमा आएको छ । अध्यक्ष ललित राम पार्की सँग यो बिषयमा फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेको छैन ।प्राविधिक मुल्याङकन अनुसार जम्मा ६८ लाख १४ हजार ९ सय ७० रुपैया मध्ये कृषकले २१ लाख ४० हजार १ सय ७० र कृर्षि ज्ञान केन्द्र दार्चुलावाट ४६ लाख ७४ हजार ८ सय रुपैयाँमा सम्झौता भई उक्त क्षेत्रमा कार्यक्रम लागु भएको थियो ।
प्राविधिक मुल्याङकन अनुसारनै स्वदेशी तथा विदेशी ओखार विरुवा खरिद, किविका बोट खरिद, सुन्तलाका बोट खरिद, मौषमी फलफुल तथा नर्सरी स्थापना, सिचाई ट्याङकी, विरुवा काटछाट औजार, पितलका औषधी छर्किने ट्याङकी १० पिस, विरुवा काटछाट तालिम १ पटक, नमुना सहजकर्ता १ जना केहि समयको लागि भर्ना गर्नु पर्ने, सुचना पाटी राख्नु पर्ने, सार्वजनिक सुनवाई कार्यक्रम गर्नु पर्ने र खरिद सामग्री ढुवानी गर्नु पर्ने लगायतका कार्यक्रम समावेस गरिएको थियो ।
जसमध्ये केहि काम नभएको र प्राविधिक मुल्याङकन अनुसार समितिलाई भुक्तानि भएको कृषि ज्ञान केन्द्र दार्चुला सुचना अधिकारी चन्द्र बहादुर ठगुन्नाले जानकारी दिए ।