काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आन्तरिक तयारी थालेको छ । आयोगका पदाधिकारीको टोलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गतेका लागि निर्वाचनको मिति सिफारिस गरेको थियो ।

प्रधानमन्त्री देउवाले आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोक्ने बताएपछि चुनावी माहौल तातिँदै गएको छ । सरकारबाट तिथि घोषणाको प्रतीक्षा गरेको आयोगले चुनावी कार्यतालिका बनाउन थालेको छ । निर्वाचन तिथि तोकेको बढीमा तीन दिनभित्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी काम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

‘चुनावको मिति घोषणा भएको दुई तीन दिनमा कार्यतालिका आउँछ,’ उनले भने, ‘चुनावको मिति घोषणा भएदेखि मतदानको दिनसम्म के के भन्ने कुराको कार्यतालिकामा हुनेछ । अहिले हामी आन्तरिक गृहकार्य गरिरहेका छौँ ।’ निर्वाचनको मिति घोषणा नभई निर्वाचन कार्यतालिका ल्याउन नमिल्ने उनको भनाइ छ । ‘निर्वाचनको मिति घोषणापछि अर्थ मन्त्रालयमार्फत बजेट पास गर्नुपर्छ ।

यी सबै कुरा मिति घोषणा गरेपछि हुन्छ । मिति घोषणा गर्नुभन्दा अगाडि गर्नुपर्ने काम गरिरहेका छौँ,’ पौडेलले भने । निर्वाचन कार्यक्रम भने चुनाव हुन एक महिना बाँकी रहँदा मात्र ल्याइने पौडेलले बताए । ‘निर्वाचन कार्यक्रम निर्वाचन महाशाखाले बनाउने हो । त्यो निर्वाचन हुनुको एक महिना बाँकी रहँदा ल्याउँछौ । सबै ठाउँमा निर्वाचन अधिकृतको कार्यालय खुलेपछि निर्वाचन कार्यक्रम आउँछ,’ उनी भन्छन् । मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दाबी–विरोध, छानबिन लगायतका विषय निर्वाचन कार्यक्रममार्फत ल्याइनेछ । रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय