दार्चुला । जिल्लामा फागुन १ गतेबाट विद्यालय खुल्ने भएका छन् । प्रमुख जिल्ला अधिकारीले बिहीबार एक आदेश जारी गर्दै फागुन १ गतेदेखि भौतिक रुपमा विद्यालय खोल्न अनुमति दिएको हो ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को निर्णय अनुसार नै जिल्लामा पनि विद्यालय खोल्न आदेश दिइएको हो । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरि फागुन १ गतेबाट सञ्चालन आदेशमा भनिएको छ ।
दार्चुलामा कोरोनाको तेस्रो लहरबाट सङ्क्रमित हुनेको सङ्ख्या अहिले दिनप्रतिदिन ओरालो लाग्न थालेको छ । तर अझै जिल्लामा जोखिम भने कम भइनसकेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।
जिल्लामा जारी सरसफाइ, सचेतना, स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन र आवश्यक सतर्कताका कारण सङ्क्रमितको सङ्ख्या घट्न थालेको स्वाास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कार्यालयले कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि जोखिम भने यथावत् रहेको स्पष्ट पारेको छ । पछिल्लो समय सहरी क्षेत्रमा भन्दा ग्रामीण बस्तीमा कोरोना सङ्क्रमण फैलिन थालेको छ । ती बस्तीमा पीसीआर परीक्षण पनि कम हुने गरेको पाइएको छ । कोरोना सङ्क्रमणको ‘हब’ मानिएको महाकाली नगरपालिकामा केहीदिन यता सङ्क्रमण दर केही घटेको छ ।
“सुरुसुरुमा दार्चुलामा सङ्क्रमितको सङ्ख्या दैनिक १५ देखि माथि पुग्थ्यो, तर अहिले ४ जना सम्म देखिन थालेको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र राज भट्टले भन्नुभयो, “तुलनात्मक रूपमा केही घटे पनि जोखिम यथावत् छ । सहरबजारको तुलनामा ग्रामीण क्षेत्रमा सङ्क्रमणको जोखिम बढेको जिल्ला स्थित एक अध्ययनले देखाएको छ ।
विशेष गरी बाक्लो बस्तीसँगै स्वास्थ्य सरसफाइ र मापदण्ड पालना नहुने भएकाले ग्रामीण क्षेत्रमा जोखिम बढ्ने सम्भावना छ । सहरी क्षेत्रभन्दा जिल्लाका ग्रामीण बस्तीमा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय सचेत नागरिक र गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम नियमित सञ्चालन गर्न आग्रह पनि गरिएको छ । दार्चुलामा कोरोना संक्रमणको तेस्रो लहर फैलिएपछि १७२ पुरुष र ६९ महिला गरी २४१ जना संक्रमित भएका छन् । २४१ संक्रमितमध्ये १५८ जना निको भइसकेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । महेन्द्रनगर पोस्ट