दार्चुला । जिल्लाको नौगाड गाउँपालिकाका लक्षित नागरिकले आर्थिक वर्ष २०७८÷०७९ को पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । गाउँपालिकाका जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुले चालू आवको साउनदेखि अहिलेसम्मको सामाजिक सुरक्षा भत्ता नपाएका हुन् । समयमै सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा लक्षित समुदायको जिविकोपार्जनमा समस्या भएको स्थानीयले गुनासो गरेका छन् । ७ महिना बित्दा पनि गाउँपालिकाबाट अहिलेसम्मको भत्ता पाउन नसकेको नौगाड गाउँपालिका–२ सुण्डमुण्डका जेष्ठ नागरिक चिमडे धामीले बताए । उनले भने, ‘सात महिना पनि बित्यो अहिलेसम्म भत्ता पाएका छैनौँ, आफू बिरामी मान्छे– भत्ता बुझेर उपचार गरुला भन्ने सोचेको थिए, त्यो नि पाईन् ।’ सामाजिक सुरक्षा भत्ता समयमै नपाएकाले गुजारा चलाउनसमेत समस्या भएको नौगाड–१ का विधुवा महिला सौली देवी डडालले बताइन् । बैंकको शाखाले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्दा करिब १ हजार ६ सय जना मर्कामा परेका छन् । बैंकमा केवाइसी अपडेटको कार्य चलिरहेकाले भत्ता उपलब्ध गराउन नसकिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रितम सिंह ठगुन्नाले बताए । फागुन दोस्रो हप्तादेखि लक्षित नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण थालिने उनले बताए ।
यसैबीच व्याँस गाउँपालिका वडा नम्बर ६ मा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन् । केही नागरिकले अर्काको नाममा खाता खोलेका कारण वितरण गर्न ढिलाई भएको बताइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs