दार्चुला ः गरिब घर परिवारको प्रारम्भिक सूचीमा विवाहित छोरीको नाम आएपछि चरित्र हत्या गर्ने किसिमले विभिन्न संचारमाध्यमले समाचार लेखेको भन्दै गम्भीर ध्यानाकर्षण भएको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनुभएको छ । बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष कार्कीले आफ्नो नामसहित जोडेर प्रकाशित समाचारहरु चरित्र हत्या गर्ने खालका भएका बताएका हुन् ।
दुहुँ गाउँपालिकामा नेपाल सरकार भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले आर्थिक वर्ष २०७६।०७७ मा गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमअन्तर्गत आफ्नी छोरीको नाम पनि आएकोले यसबारे बुझिरहेको बताउदै प्रारम्भिक सूचिलाई नै आधार बनाएर प्रकाशित समाचारहरुले आफ्नो र छोरीको चरित्र हत्या गर्न खोजेको आरोप लगाए । गरिब परिवारको प्रारम्भिक सूची¸ गुनासो सुनवाई मार्गदर्शन २०७८ बमोजिम सार्वजनिक गरि गुनासो सुनवाई गर्न गाउँपालिकालाई गरिब सूची¸ मार्गदर्शन र परिपत्र प्राप्त भए बमोजिम गाउँपालिकाले प्रत्येक वडा कार्यालयहरु, गाउँपालिकाको कार्यालयमा र गाउँपालिकाको वेबसाइटमा सूची सार्वजनिक गरी गुनासो सुनवाई अधिकारी समेत खटाई मार्गदर्शन बमोजिम गुनासो संकलन गर्ने कार्य अगाडी बढाइएको र उल्लेखित प्रक्रिया अगाडी बढिरहेकै समयमा सत्यतथ्यको खोजी नगरी नियोजित ढंगले चरित्र हत्या गरिएको प्रेस विज्ञप्तीमार्फत उल्लेख गरेका छन् । गणकले तथ्याङ्क संकलन घरदैलोमा गएर गर्ने र सोझै मन्त्रालयको प्रणालीमा अनलाइन इन्ट्री गरेको¸ अनलाइन प्रणालीकै आधारमा परिवार छनौट गरि सूची प्रकाशन मन्त्रालयले गरेको तथ्यलाई नकेलाइकनै त्यस प्रक्रियामा सहभागी नभएको आफ्नोसमेत नाम जोडेर राजनीतिक र पुर्वाग्रहप्रेरित समाचार सम्प्रेषण गरि भ्रम सृजना गरेको उनको ठहर छ ।
अध्यक्ष कार्कीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा भनिएको छ– ‘गरिब परिवार पहिचान प्रक्रियामा सहि सूचना गणकलाई प्राप्त नहुदा छनौटमा पनि अशुद्ता हुन सक्ने कुरालाई मध्यनजर गर्दै मन्त्रालयले प्रारम्भिक सूची प्रकाशन गरि सार्वजनिक गर्ने र गुनासो र उजुरीहरुको स्थानीय तहमा गठित गुनासो सुनवाई समितिले सूचीमा परिमार्जन गर्न कार्यपालिकामा सिफारिस गर्ने र कार्यपालिकाले सिफारिस गरि मन्त्रालय पठाएपश्चात मन्त्रालयले संशोधन गरि गरिब परिवारको अन्तिम सूची प्रशासन गर्ने व्यवस्था रहेको हुदा पछिल्लो प्रक्रियामा गाउँपालिकाको संशोधन र सिफारिसमा प्रत्यक्ष संलग्नता रहने र सो कार्यमा गाउँपालिकाले सुनवाई र सिफारिस नगरेमा प्रश्न उठ्नु पर्नेमा हाल सम्बन्ध नभएको विषयलाई प्रायोजित रुपमा सम्बन्ध देखाउदै मेरो जनताप्रतिको अविचलित निष्ठामाथि भ्रम पैदा गर्ने गरि प्रकाशित समाचार, लेख, सामाजिक संजाल स्टाटसहरुका कारण कुनै भ्रममा नपर्न सबैमा अपिल गर्दै सो घटनामा मेरो कुनै प्रत्यक्ष–अप्रत्यक्ष संलग्नता कसैले प्रमाणित गरेमा आम दुहुँबासी जनता जनार्दन सामु माफी माग्दै मेरो सार्वजानिक जीवनबाट सन्यास लिने चुनौती दिदै दुहुँबासी जनताको सेवामा हिजो भन्दा बढी दृढता, सतर्कता र समर्पणका साथ क्रियाशील रहने बचनवद्धतासमेत जनाउदछु ।’
यस्तै पालिका अध्यक्ष कार्कीले आफ्नो छोरीको मात्र नभएर पालिकामा धेरैको त्यसरी गरिब सूचीमा नाम भएकाले त्यसलाई संसोधन गर्न निवेदन दिन भनिएको बताए । उनले समाचारमा अनावश्यक रुपमा आफ्नो नाम जोडिएको दाबी गरे । यस्तै दुहुँ गाउँपालिकाले पनि एक प्रेस विज्ञप्ति जारी गरेर अन्तिम सूची प्रकाशित नहुँदै विभिन्न संचारमाध्यममा समाचार प्रकाशित भएको जनाएको छ । सूची संसोधनको प्रकृयामा रहेकाले यसतर्फ ध्यान दिन पनि सूचित गरेको छ । गरिब घर परिवारको सूचीमा विवाहित छोरी सावित्री कार्कीको नाम परेपछि उक्त सूचीमा रहन इच्छुक नभएको व्योहोरासहित आफू र आफ्नो परिवारको नाम हटाउन उनले स्वघोषणा गरेकी छन् । आफूले २६ गते नै नाम हटाउनेबारे स्वघोषणा गरेकी छिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय