
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार (भोलि)को बैठकमा एमसीसीबारे सामान्य छलफल हुने भएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गर्नुभएको सम्भावित कार्यसूचीमा एससीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव उल्लेख छ । प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुहुने सम्भावित कार्यसूची छ । यद्यपि बिहीबार तोकिएको बैठकमा भने अर्थमन्त्री शर्मा सहभागी नहुने जनाउनुभएको थियो । एमसीसी प्रस्ताव टेबल गर्ने समयमा पनि मन्त्री शर्मा संसद बैठकमा उपस्थित हुनुभएको थिएन ।
यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन’ पेश गर्ने प्रस्ताव पनि सम्भावित कार्यसूचीमा समावेश छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि विहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानले जानकारी दिनुभयो । बिहीबार प्रतिनिधिसभाको बैठक बस्ने भनिए पनि सत्तारुढ नेपाली कांग्रेसले राजनीतिक सहमति र छलफलका लागि भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । सोही बमोजिम सभामुखले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सक्रियता बढाउनुभएको छ । उहाँले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट गर्दै सदनको अवरोध हटाउन र एमसीसी अनुमोदन गर्न सघाउन आग्रह गर्नुभएको छ ।