काठमाडौं । सन्देशकुमार यादव पर्साको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् भने पोखरिया नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन् । एकै पटक दुई स्थानीय तहको प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न यादवलाई सहज छैन । ‘दुई स्थानीय तहका जनप्रतिनिधिहरुको कुरा सुन्नु र कर्मचारीको नेतृत्व गर्नु आफैंमा गाह्रो काम हो’, उनी भन्छन्, ‘तर, तोकिएको जिम्मेबारीबाट भाग्न मिलेन, भ्याईनभ्याई काम गरिरहेको छु ।’
जनप्रतिनिधिहरुलाई पनि यो चित्त बुझेको छैन । पोखरियाकी उपमेयर सलमा खातुन अर्को गाउँपालिकाकाम काम गरिरहेका अधिकृतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गराउनुपर्दा अनेक सास्ती भोग्नु परेको बताउँछिन् । बजेट कार्यान्वयनदेखि दैनिक सेवा प्रवाहसम्ममा यसले असर पारेको उनले बताइन् । ‘निमित्तका भरमा प्रशासन चलाउनु पर्दा नीति र योजना प्रभावकारी बनाउन सकिंदैन, कार्यान्वयन पनि कमजोर हुन्छ,’ उनी भन्छिन्, ‘कर्मचारी अभावले ज्यादै समस्या छ ।’
मुलुक संघीयतामा जानुअघि एकजना सुब्बाले दुई वा दुईभन्दा बढी गाविसको सचिवको जिम्मेवारी सम्हाल्नुपर्थ्यो । संघीयता कार्यान्वयनसँगै अधिकार सम्पन्न भएका स्थानीय तहमा पनि यस खालको अभ्यास कायमै छ । यसैबिच सरकारी तथ्यांकअनुसार देशभरका करिब २०० स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।
