दार्चुला । नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा पुर्व महाधिवेशन प्रतिनिधि उमेश खत्रीलाई नेपाली काँग्रेस दार्चुलाले अनुशासनको कारबाही गरेको छ । नेपाली कांग्रेस जिल्ला अनुशासन समितिका संयोजक पुलेन्द्र बहादुर कार्कीको अध्यक्षतामा शनिवार बसेको बैठकले मार्मा गाउँपालिका वडा नम्बर ४ बस्ने उमेश खत्रीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो ।

खत्रीले पार्टीको आर्दश, उद्देश्य, नीति र आचार संहिता विरुद्ध पार्टीका नेता कार्यकर्तालाई गालिगलौज गर्ने, चरित्र हत्या गर्ने, पार्टीको संगठन कमजोर हुने गरी कार्यकर्तालाई भड्काउने सामाजिक संजालमा निरन्तर पोष्ट गर्ने, अभिव्यक्तीहरु दिने कार्य गरेको भन्दै अनुशानसको कारबाही गरीएको नेपाल कांग्रेस दार्चुलाले जनाएको छ ।

अनुशासन समितिले खत्रीलाई फागुन १ गते १५ दिनको म्याद दिएर स्पष्टिकरण पेश गर्न पत्राचार गरेको तथा हाल सम्म कुनै पनि स्पष्टिकरण नबुझाई थप अनुशासन उल्लंघन हुने गरी सामाजिक संजालमा पोष्ट लेखन कार्य गरेको भन्दै अनुशासन कारबाही गरिएको बताइएको छ । खत्रीलाई नेपाली कांग्रेसको विधान २०१७ नियमावली २०७६ बमोजिम २ वर्ष सम्म पार्टीको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गरेको नेपाली कांग्रेस दार्चुलाले जनाएको छ ।

त्यस्तै कांग्रेस जिल्ला कार्य समितिको बैठकले स्थानिय तहको निर्वाचनमा टिकट वितरण गर्नका लागी संसदीय समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार र शनिबार बसेको जिल्ला कार्य समितिको बैठकमा सभापति ललित सिंह बोहराले संसदीय समिति गठन गर्न प्रस्ताव गर्नु भएको थियो । सोही प्रस्ताव माथी छलफल गरेर संसदीय समिति गठन गर्ने निर्णय गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति ललित सिंह बोहराले जानकारी दिनुभयो । २०७९ साल वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको मिति नजिकिदै जादा कांग्रेस दार्चुलाले टिकट वितरणका लागी संसदीय समिति गठन गरेको हो ।

संसदीय समितिको अध्यक्षमा सभापति ललित सिंह बोहरा, उपाध्यक्षमा उपसभापतिहरु महादेव बडू कस्यप र ललित सिंह ठगुन्ना, सचिवमा पुलेन्द्र बहादुर कार्की र माधवराज भट्ट लगायत कार्यसमितिका सबै पदाधिकारीहरु संसदीय समितिको पदेन सदस्य हुने सभापति बोहराले बताउनुभयो । यस्तै संसदीय समितिमा थप ५ जनालाई सदस्यमा मनोनयन गर्नु पर्ने विधानमा व्यवस्था भए अनुरुप ५ जना सदस्य थप गरिएको छ ।

संसदीय समितिको सदस्यमा शैल्यशिखर नगरपालिकाबाट अमर सिंह धामी, मार्मा गाउँपालिकाबाट दानबहादुुर विष्ट, मालिकार्जुन गाउँपालिकाबाट नविन चन्द, दलितबाट श्याम सिनाल र महिलाबाट देउमति लोथ्याललाई सदस्यमा मनोनयन गरिएको उहाले जानकारी दिनुभयो । संसदीय समितिले स्थानिय तह गाउँपालिकाका वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टिकट वितरण गर्ने जनाइएको छ । साथै नगरपालिकाको हकमा सोही संसदीय समितिले प्रदेश समितिलाई सिफारिस गर्ने व्यवस्था रहेको सभापति बोहराले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय