नेपालगन्ज । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले संविधान रक्षा र संवैधानिक सर्वोच्चता रेडियो प्रशारणको लक्ष्य बन्नुपर्ने बताएका छन् ।
सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६ औं वार्षिक साधारणसभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको बुधबार बिहान नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडूले रेडियोहरुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले रेडियो प्रशारणले सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गर्नुपर्नेमा जोड दिए ।
२०६२÷६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको मन्त्री बडूको भनाई छ । उहाँले रेडियोहरुको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत महसुलमा छुट लगायतका काम सरकारले गरेको बताए । मन्त्री बडूले विशेष परिस्थितिमा विशेष दायित्वका साथ अहिलेको सरकार बनेको उल्लेख गर्दै खतरामा पर्नै आँटेको संविधान रक्षा सरकारको मूल जिम्मेवारी भएको बताए ।
सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरीले राज्यको स्पष्ट नीति नहुँदा सामुदायिक रेडियोहरुले थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको बताए । सामुदायिक रेडियोहरुको अलग पहिचान स्थापित गर्न राज्यले विशेष ध्यान दिनुपर्ने गिरीले बताए ।
उद्घाटन कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्याल, नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
साधारणसभा एवम् सम्मेलनमा पाँच जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सामुदायिक रेडियो अभियन्ताहरु पूर्व अध्यक्ष मिन बहादुर शाही र मोहन चापागाईं, संस्थापक मध्येका एक दधिराम सुवेदी, थारु समुदायको बरघर एवम् थारु अगुवा बर्दियाका पतिराम थारु र कला क्षेत्रका साधक नेपालगञ्जका कलाकार श्यामानन्द सिंह ठकुरीलाई प्रमुख अतिथि मन्त्री बडुले सम्मान गरेका हुन् ।
दुई दिनसम्म चल्ने १६औं वार्षिक साधारणसभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनमा देशभरका ७७ जिल्लाबाट ३६१ सामुदायिक रेडियोका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको छ । नेपालगन्ज घोषणापत्र जारी गर्दै सम्मेलन भोली सकिने सामुदायिक रेडियो प्रशारक संघका महासचिव किशोरजंग थापाले जानकारी दिएका छन् ।
सम्मेलनमा भाषाभाषीको संरक्षण र प्रवद्र्धनमा सामुदायिक रेडियोको भूमिका, विपद् तथा महामारी लगायतका नयाँ चुनौतीहरुको सामना गर्न सक्ने समुदाय निर्माणमा सामुदायिक रेडियोको भूमिका, सामुदायिक रेडियोले आफ्नो प्रशारणमा प्राथमिकता दिनुपर्ने क्षेत्रहरु, दिगो विकासका साथै नेपाली समाजमा विद्यमान विभिन्न कुरिती तथा परम्परागत हानीकारक अभ्यासको अन्त्यका लागि सामुदायिक रेडियोको बुझाई र योगदानका विषयमा संवाद गरिने अध्यक्ष गिरीले जानकारी दिए ।
