दार्चुला । स्थानीय तह २०७४ को मत परिणामलाई हेर्दै जिल्लामा कृयाशिल प्रमुख ३ राजनीतिक दल आफ्नो गृहकार्यमा जुटेका छन । नेपालको संविधान २०७२ जारी भएपछि दोस्रो पटक ऐतिहासिक रुपमा नेपाल सरकारले यहि मिति २०७९ बैशाख ३० गतेका लागी स्थानीय तह निर्वाचन घोषणा गरेको छ ।

त्यसै अनुरुप जिल्लामा रहेका ९ वटा स्थानिय तहमा प्रमुख ३ राजनीतिक दलहरु आ आफ्नो पाटीबाट बलियो उम्मेदवार छनौट गरिरहेका छन । स्थानिय तह निर्वाचन २०७४ मा दार्चुला जिल्लामा पहिलो दल बनेको नेपाली काँग्रेसले अहिले सम्म प्रमुख उपप्रमुखमा एक स्थानिय तहको समेत उम्मेदवार छनोट गर्न सकेको छैन । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले चैत्र २२ गते सम्म उम्मेदवारहरुको नामावली जिल्ला सिफारिस गर्ने भनि वडा पालिका तहमा पत्रचार गरेको भएपनि केन्द्रबाट गठवन्धन गर्ने भन्ने पत्राचार भएका कारण अहिले सम्म निश्कर्ष निकाल्न सकेको छैन । तर पाटीले आफ्नै तरीका बाट उम्मेदवार छनौटको प्रक्रिया अगाडी बढाईरहेको छन ।

त्यस्तै नेकपा एमालेले जिल्लाका ९ वटा स्थानिय तह मध्ये केहि स्थानिय तहमा उम्मेदवार छनोट गरिसकेको र वाकि स्थानिय तहमा उम्मेदवारको छनौट गरिरहेको जनाएको छ । नेकपा एमाले प्रचार प्रसार विभाग प्रमुख खड्का बडालका अनुसार जिल्लाको दुहुँ गाउँपालिका, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकामा उम्मेदवारको टुङगो लागेको संचारमाध्यहरुमा थाहाँ पाएको र आधिकारीक रुपमा जिल्ला कार्यसमितिलाई नआएको वताए । भोली मात्रै (सोमबार) जिल्ला कार्यसमितिको बैठक वस्ने र उम्मेदवारको टुङगो लाग्ने वताए ।

त्यस्तै नेकपा माओबादी केन्द्रले पनि अहिले सम्म कुनै पनि स्थानिय तहको उम्मेदवारको टुङगो लगाउन सकेको छैन । स्थानिय तहको चुनावमा केन्द्रबाटै गठवन्धन गरेर अगाडी बढ्न भन्ने निर्देशन आएका कारण गठवन्धनका दलहरु के गर्ने कसो गर्ने भन्ने वारे अन्योलमा परेका छन । दार्चुला जिल्लामा दुई तिन चरणमा गठवन्धनका दलहरु बिच सकरात्मक बार्ता भएको र कुन स्थानिय तह कस्ले लैजाने भन्ने बारे टुङगो लागिनसकेको नेकपा माओबादी केन्द्र दार्चुलाका सचिव पदमराज पन्तले जानकारी दिए । गठवन्धनको तयारी भन्दापनि नेता कार्यकर्ताहरु अहिले आफ्नै पार्टीबाट उम्मेदवार छनौटको प्रक्रिया अगाडी बढाईरहेका छन । यहि चैत्र ३० गते सम्म ९ बटै स्थानिय तहमा उम्मेदवारको टुङगो लाग्ने वताईएको छ ।

पाँच वर्ष अघि देशभर दोस्रो चरण अन्र्तगत दार्चुलामा १४ असार २०७४ मा भएको स्थानीय तहको निर्वाचनको परिणामको आधारमा पनि राजनीतिक दलहरुले जोड घटाउ गरिरहेका छन् ।
२०७४ सालको स्थानिय निर्वाचनमा दार्चुलाका स्थानीय तहहरुमा सबै भन्दा बढी सिटमा नेपाली काँग्रेसले हात पारेको थियो ।
दार्चुला जिल्लाका ९ वटा स्थानीय तहहरुमा सात वटा गाउँपालिका र दुईवटा नगरपालिका छन् । जसमा महाकाली र शैल्यशिखर नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसले जित हात पारेको थियो । सात वटा गाउँपालिका मध्ये तीन वटा दुँहु, व्यास र मालिकार्जुन गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो भने तीन वटा गाउँपालिका नौगाड, लेकम र अपीहिमालको अध्यक्ष पदमा नेकपा एमाले र मार्मा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादीले जित हासिल गरेको थियो ।
यसरी ९ वटै स्थानीय तह मध्ये पाँचवटामा नेपाली काँग्रेस, तीनमा नेकपा एमाले र एक स्थानीय तहमा नेकपा माओवादीले जित हासिल गरेको थियो ।

उप प्रमुख तथा उपाध्यक्ष पदमा दुईवटा नगरपालिका महाकाली र शैल्यशिखर तथा दुईवटा गाउँपालिका दुँहु र व्यासमा गरि चार स्थानिय तहहरुमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो भने चार वटा स्थानीय तहहरु मालिकार्जुन, नौगाड, अपिहिमाल र लेकम गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको थियो । त्यसैगरी नेकपा माओवादीले उपाध्क्ष पदमा एक सिट मार्मा गाउँपालिकामा हासिल गरेको थियो ।

दार्चुला जिल्ला भरि रहेका ६१ वटा वडाहरु मध्ये ३५ वडामा नेपाली काँग्रेस, २० वडामा नेकपा एमाले र ६ वटा वडामा नेकपा माओवादीले जित हासिल गरेको थियो । दलित महिला सदस्य तर्फ २९ सिटमा नेपाली काँग्रेस, २२ सिटमा नेकपा एमाले र ७ सिटमा नेकपा माओवादीले जित हासिल गरेको थियो । दलित वा अल्पसंख्यक सदस्यहरुमा १३ सिटमा नेपाली काँग्रेस, ३ सिटमा नेकपा एमाले, ३ सिटमा नेकपा माओवादी र १ सिटमा नयाँ शक्ति पार्टीले जित हासिल गरेको थियो ।महिला सदस्यहरुमा ३० सिटमा नेपाली काँग्रेस, २५ सिटमा नेकपा एमाले र ६ सिटमा नेकपा माओवादीले जित हासिल गरेको थियो । अन्य वडा सदस्य तर्फ ६९ सिटमा नेपाली काँग्रेस, ४३ सिटमा नेकपा एमाले र १० सिटमा नेकपा माओवादीले सिट हासिल गरेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाको तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय