दार्चुला : आउदो वैशाख ८ गते जिल्लाका नौ वटै स्थानिय तहहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । वैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनका लागी निर्वाचन अधिकृतको कार्यालय कार्यालय स्थापना गरिन लागेको दार्चुलाका निर्वाचन अधिकारी प्रदिप सिंह धामीले जानकारी दिनुभयो ।
निर्वाचन सम्पन्न गर्न निर्वाचन अधिकृतहरुलाई १ दिने तालिम प्रदान गरी सम्बन्धित कार्य क्षेत्रमा पठाइएको उहाले बताउनुभयो । वैशाख २ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा उनिहरुलाई तालिम प्रदान गरिएको थियो । दार्चुलामा निर्वाचन अधिकृतको जिम्मेवारी प्राप्त गरेका केहि निर्वाचन अधिकृतहरु जिल्ला आइ पुगेको तथा केहि आउने क्रममा रहेको बताइएको छ ।
जिल्लाको महाकाली नगरपालिकामा जिल्ला न्यायाधिस एवं मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले निर्वाचन गराउने तथा अन्य स्थानिय तहहरुमा निर्वाचन अधिकृतको जिम्मेवारी प्राप्त गरेका निर्वाचन अधिकृतहरुले निर्वाचन गराउने उहाको भनाई छ । दार्चुलामा सात गाउँपालिका तथा दुई नगरपालिका गरी नौ वटा स्थानिय तह रहेका छन् । जिल्लामा ८८ हजार २ सय १५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा करिब १ करोड ७९ लाख मतदाता रहने निर्वाचन आयोगको आकलन छ । यसअघिको स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख मतदाता थिए । आयोगले पछिल्लो पटक गत वर्षको पुसमा अद्यावधिक गरेको मतदाता नामावलीमा १ करोड ६२ लाख मतादाता पुगेका छन् । देशभरका ७५३ स्थानीय तहमा एकसाथ हुने यस्तो निर्वाचन यसअघि २०७४ सालमा तीन चरणमा भएको थियो ।
नयाँ संविधानले परिकल्पना गरेको तीन तहको सङ्घीय संरचना बनेपछि २०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन भएको थियो । जिल्लामा १ सय १० वटा मतदान स्थल तथा १ सय ३९ वटा मतदान केन्द्रहरु रहेका छन् । निर्वाचनमा पुरानै मतपेटिका प्रयोग गरिने पनि जनाइएको छ । dfm
