दार्चुला : न्यूनतम सेवा मापदण्ड अनुगमन मूल्याङ्कनमा जिल्ला अस्पताल दार्चुलाले ७६ प्रतिशत अंक प्राप्त गरेको छ । मंगलवार जिल्ला अस्पताल दार्चुलाद्धारा आयोजित न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत अस्पतालको अनुगमन मूल्यांकन गोष्ठीमा प्राप्त गरेको प्रतिशतबारे जानकारी गराईएको हो । अस्पतालको व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगात्मक सेवामा गरिएको अनुगमन मूल्यांकलनमा दार्चुला अस्पतालले ७६ प्रतिशत अंक प्राप्त गरेको अस्पतालका निमित्त मेसु डाक्टर सोमराज अवस्थीले जानकारी दिए ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशद्वारा गरिएको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत अस्पतालको अनुगमन मूल्याङ्कनमा दार्चुला अस्पतालको प्रगती गत विगतका वर्षभन्दा सुधार हुदै गएको देखिएको उनले बताए । अघिल्लो वर्ष ७४ प्रतिशत अङ्क प्राप्त गरेको अस्पतालले यस वर्ष थप दुई अङ्क प्राप्त गर्न सफल भएको छ ।
जेठ १ गते क्षेत्रीय स्वास्थ्य निर्देशनालय र निक साइमन इन्स्टिच्युट (एनएसआई) ले जिल्ला अस्पताल दार्चुलाको अनुगमन तथा मूल्यांकन गरेको थियो । जिल्ला अस्पतालमा अहिले बाल रोग विशेषज्ञ १ जना, मेडिकल अधिकृत ६ जना, एमडीजीपी १ जना गरी २४ जना कर्मचारी कार्यरत छन् । जिल्ला अस्पताल दार्चुलाले चालू आर्थिक वर्षको चैत मसान्तसम्म अस्पतालबाट २४ हजार २४ जनालाई सेवा दिएको जनाएको छ ।
केही उत्कृष्ट र नविनतम कार्यअन्तर्गत अक्सिजन प्लान्ट जडान गरिएको, डी कोड ईलेक्ट्रोनिक रेकर्ड प्रणाली लागू गरिएको, एम्बुलेन्स खरीद प्रक्रृयामा रहेको, अस्पतालमा बालरोग विशेषज्ञ ल्याउन सफल भएको अस्पतालका निमित्त मेसु डाक्टर सोमराज अवस्थीले बताए ।
यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक जोशीले विगतको तुलनामा अस्पतालको अवस्था र सेवा विस्तारमा सुधार भएको बताए । अस्पतालसँग अहिले स्टाफ क्वाटरको अभाव, खानेपानीको अभाव, लेखापालको दरबन्दी नहुनु, अस्थायी भवनबाट सेवा प्रवाह हुनु जस्ता समस्या रहेको जनाउँदै आगामी कार्ययोजना अनुसार अस्पतालमा एचडीयु र एसएनसीयु सेवा प्रभावकारी बनाउने, अस्पतालमा बगौँचा तथा वृक्षारोपण, अस्पतालजन्य फोहरमैलाको उत्कृष्ट व्यवस्थापनका साथै सशूल्क र निशूल्क फार्मेसी छुट्टाछुट्टै बनाउने बताए ।
