काठमाडौ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताअघिको वार्म खेलमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको छ।

यसअघि खेलिएका दुई अभ्यास खेल र एक वार्मअप खेलमा पराजित भएको नेपालले चौथो खेलमा भने जित निकालेको हो।

यसअघि नेपाललाई अभ्यास खेलमा नेदरल्यान्ड्स र स्कटल्यान्ड तथा वार्म अप खेलमा युएईले पराजित गरेका थिए।

बिहीबार जिम्बावेको हरारेमा ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४.५ ‍ओभरमा ८ विकेट गुमाएर पार गर्‍यो।

नेपालको जितमा कुशल भुर्तेलले शतक प्रहार गरे। रिटायर्ड हर्ट हुनुअघि उनले १०१ रन जोडे। यस्तै भीम सार्कीले ५६ रन र रोहित पौडेलले ३१ रन जोडे।

बलिङमा ओमानका इल्यासले ४ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको ओमान ४ बल खेल्न बाँकी छदा २६७ रनमा अलआउट भयो।

उसका लागि मक्सुदले ३९ रन र एस खानले ३८ रन जोडे।

बलिङमा नेपालका सोमपाल कामीले ५ विकेट र सन्दीप लामिछानेले ३ विकेट लिए।

विश्वकप छनोट प्रतियोगिता असार ३ देखि सुरु हुँदैछ।

१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा  छ। समूहमा नेपालसहित, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

नेपालले आफ्नो पहिलो खेल १८ जुनमा (असार ३) आयोजक जिम्बावेसँग खेल्नेछ। यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

विश्वकप छनोटका लागि नेपाली टिम
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय