दार्चुला । भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजना बाँधका ढोकाहरु १५ घण्टा सम्म खोलिने भएका छन् । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको जानकारी अनुसार सिल्ट सफाईको कार्यका लागि बाँधका ढोकाहरु खोलिन लागिएको हो ।
परियोजनाले एक सूचना जारी गर्दै असार २६ गते मंगलबारका दिन विहान ५ बजेदेखी राती ८ बजेसम्मका लागि बाँधका ढोकाहरु खोलिने जनाउदै महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरिएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जारी गरेको सूचना संगै जिल्ला प्रशासन कार्यालयले पनि एक सूचना जारी गरि महाकाली नदी किनारका बस्तीहरुमा बसोबास गर्ने नागरिकलाई उक्त समयमा नदी किनारमा नजान तथा सावधानी अपनाउन आग्रह गरेको छ ।
जिल्लाको ब्याँस गाउँपालिकाको वडा नं ५ धौलाकोट देखि लेकम गाउँपालिकाको लाली सम्मका नदि तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरि आग्रह गरेको हो । दार्चुला देखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेको छ । दार्चुला र धारचुलाबाट करिब १८ किलोमिटर उत्तर–पश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत उत्पादनका लागि बनाएको बाँधबाट २ सय ८० मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।
