दार्चुला । अपि हिमाल गाउँपालिकाले विरेजात्राको अवसरमा ३ दिन सार्वजनिक विदा गरेको छ । सोमबार (भोली) देखि अगामी बुधबार सम्म पालिकाभरीका सरकारी तथा, गैर सरकारी कार्यालय, लगायत शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको छ । पालिकाले आइतबार एक सुचना जारी गर्दै ११ गते देखि १३ गते सम्मका लागि सार्वजनिक विदा दिएको जनाएको छ ।
अपि हिमाल गाउँकार्यपालिकाको शुक्रबार बसेको बैठकले गाउँपालिकाको प्रख्यात धार्मिक सुर्माभवानी मन्दिरमा सनिवार देखि सुरु भएको विरेजात्राको अवसरमा सार्वजनिक विदा दिने निर्णय अनुसार पालिकामा सार्वजनिक विदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र सिह साउदले जानकारी दिए ।
देशकै सबैभन्दा लामो समयसम्म मनाइने सुर्मा भवानीको विधिवत रुपमा जात्रा शनिबारबाट सुरु भएको अपिहिमाल सहकर्मी भकत सिह धामीले जानकारी दिए । दार्चुला र बझाङ जिल्लाको सीमा क्षेत्रमा यो जात्रा लाग्ने गरेको छ । सुर्मा भवानी जात्रा ओँसीदेखि १७ दिन र रतेडीदेखि सात दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ । अपिहिमाल गाउँपालिकाको घाजिर हुँदै बझाङ जिल्लाको सुर्मा सरोवरको सीमासम्म यो जात्रा मनाइने गरिन्छ । उच्च हिमश्रृखंलाको बीचमा अवस्थित सरोवर धार्मिक पर्यटकीय तथा सांस्कृतिक दृष्टिकोणले महत्व रहेको छ ।

सुर्माभवानी बझाङका सिकारीले लखेट्दा सुर्मा तालमा विलए भएको मान्यता रहिआएको छ । सोही कारण सुर्मा तालमा अपि हिमालको खण्डेश्वरीबाट जाने तिर्थालुहरुले सरोवरमा पूजा गरेपछि मात्रै बझाङबाट आउने तिर्थालुहरुले पूजागर्ने चलन रहि आएको छ । जात्राको लागि क्षेत्ती पुरख्याउली घर भएका स्थानीय र घाजिर घर भएका समुदायका तिर्थालुहरुले औसी देखिनै एक छाक मात्र खाएर सुर्मा भवानीको ब्रत बस्नुपर्ने परम्परा छ ।
सुर्मासरोवर तिर्थ जाने ब्रतालु भक्तहरुलाई बीरे भनिन्छ । बीरे दुई प्रकारका हुन्छन् । जसमा पहिलो पटक जानेलाई बालो विरे र पटक–पटक गएकालाई बुढोबीरे भन्ने चलन छ । जसअनुसार सहभागि हुने क्षेत्ति घर भएका ठेकरे, बोहरा, धामी, वैरे समुदायका भक्तजनहरुलाई उवादेशी, घाजिर घर भएका स्थानीय भक्तजनहरुलाई उनादेशी, तथा खण्डेश्वरी भित्र बसोबास गर्ने, रोकाया, कार्कीलाई वाइदेशी भन्ने चलन छ ।जात्रामा घाँजिर देखि क्षेत्ति सम्म टोपी लगाउने तर जुत्ता चप्पल नलगाउने अनौठो परम्परा पनि रहि आएको छ ।
सूर्मा भवानी जात्रामा सहभागि हुने भक्तजनहरुलाई जात्रा अवधिभर लसुन, प्याज, मसुर तथा मासु रक्सी जस्ता भोजन निषेध गरिएको छ ।
