काठमाडौं – गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सद्भाव र सहिष्णुतासहितको राष्ट्रिय एकता कायम गर्न सवै धार्मिक संघ, संस्थाहरुलाई अपिल गर्नुभएको छ ।व्यक्तिको आस्था वा धर्मजस्तो संवेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोजेर नहुने भएकाले विविधतासहितको सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न धार्मिक संघ, संस्थाहरुले पनि पहल गर्नुपर्ने गृहमन्त्री श्रेष्ठको भनाई थियो ।
एक धार्मिक समुदायका मानिसले अर्को समुदायमाथि आक्रमण गरिरहेका बेला उहाँले विविधताबीचको एकता, सहिष्णुता र सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ पार्ने काममा सबैलाई आ(आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह गर्नुभयो ।
शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विभिन्न धार्मिक संघ, संस्थाका प्रतिनिधिहरुलाई बोलाएर उहाँले मुलुकमा नियोजित रुपमा धार्मिक समुदायबीच भिडाउने प्रयास गरे जो कोहीलाई पनि सरकारले नियन्त्रणमा लिने चेतावनी दिनुभयो । एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना वा घृणा फैल्याउने खालको अभिव्यक्तिहरु देखा परेकाले यस्ता घटनालाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक अघि बढने उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो ।गृहमन्त्री श्रेष्ठले सरकारले मुलुकमा सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधिलाई सम्झाएर नियन्त्रणमा लिन चाहेको पनि दोहोर्याउनुभयो ।
