कैलाली। सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले नियम विपरित प्रदेश सभा सचिवालयका प्रयोग भइरहेका सवारी साधन आफै नबुझाए प्रहरी लगाएर खोस्ने बताए ।
नियम विपरीत सरकारी सवारी साधनको दुरुपयोग गरेका कारण सभामुख भण्डारीले फिर्ता गर्न भन्दा पनि संसदीय दलका नेता खगराज भट्टले सवारी फिर्ता गरेका छैनन् । सभामुख भण्डारीले भने –‘दुई दलले सवारी फिर्ता गरिसकेका छन् । तर, नेकपा माओवादीका संसदीय दलका नेता खगराज भट्टले अहिलेसम्म फिर्ता गरेका छैनन् । दुई दिनको समय दिएको छु । नमाने प्रहरी लगाएर भएपनि गाडि फिर्ता ल्याउने छु ।’
उनले दलका नेताले प्रयोग गरेका गाडि सदुपयोग गर्न लायक नरहेको बताए । उनले भने –‘सवारी प्रयोग गरेको आधा महिना पनि भएको छैन । अहिलेनै मर्मत गर्नुपर्ने अवस्था रहेको छ । आफनो सवारी भएको भए जतन गरेर प्रयोग गर्थे होलान । सरकारी सम्पति भनेर यसरी विगारिदिने हो ।’
संसद सचिवालयले केही दिनअघि मौखिक रुपमा गाडी बुझाउन भने पनि उनीहरूले अटेर गरेका थिए । सार्वजनिक लेखा समितिले फिर्ता गर्न निर्देशन दिएसंगै नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले सचिवालयलाई सवारी बुझाएका थिए । तर, ती गाडि प्रयोग गर्न लायक नरहेको सभामुख भण्डारीले बताए ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ मा सत्ता पक्षका संसदीय दलका नेतालाई गाडी सुविधा दिने बारे प्रस्ट उल्लेख नहुँदा पनि लामो समयदेखि सत्तारूढ दलका नेताले गाडी प्रयोग गरिरहेका थिए ।
गाडी सुविधाबारे ऐन र अनुसूची बाझिएको छ । ऐनमा सबै सत्ता पक्षका संसदीय दलका नेताहरूले गाडी सुविधा पाउने उल्लेख छ भने अनुसूचीले सत्ता पक्षका संसदीय दलका नेतालाई चिन्दैन । अनुसूचीमा सत्ता पक्षका संसदीय दलका नेतालाई कुनै पनि सुविधा दिने उल्लेख छैन ।
