कैलाली: महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित १८ जनालाई पक्राउ गरेको छ । आज महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीय प्रदर्शनमा उत्रिएका थिए ।
सो क्रममा उनीहरुले पार्कमा रहेको सालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए । राजा महेन्द्रले पार्क निर्माण गरेको भन्दै आन्दोलनरत समूहले सालिक तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले सालिक तोडफोडमा संलग्न १८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । “तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिएर थप बुझ्ने काम भइरहेको छ ।”
प्रदर्शनका क्रममा प्रदर्शनकारीले राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका मुद्दामा नाराबाजीसमेत गरेका थिए । उक्त प्रदर्शनमा राप्रपाका जिल्ला अध्यक्ष गजेन्द्र चन्द र राप्रपाका नेता पूर्ण वहादुर चन्द लागयतका राप्रपा नेता कार्यक्रताको सहभागिता रहेको थियो ।
