कैलाली- कान्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ। घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ।

भजनीमा सबै वडा बाढीले जलमग्न भएका छन । बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेको भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले बताए ।

उनले वडा नं १ देखि ९ सम्म सबै वडामा रहेका घर डुबानमा परेका बताए । यसरी बाढी घरमा पसेपछि नागरिक आफन्तको घर, उच्च घर र सडकमा आश्रय लिईरहेको बताउदै नगर प्रमुख चौधरीले नगर पालिका एक्लैले हजारौँ परिवारको उद्धार गर्नसक्ने अवस्था नरहेको बताउदै सबै सरोकारवाला निकायलाई सहयोग गर्न आग्रह गरे ।

हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ। भजनी नगरपालिका मोहना, पथरैया, कान्द्रा र काढा नदीको चपेटामा पर्ने गर्दछ।

अहिले मानिसको मात्रै उद्दार गरिरहेको बताउदै नगर प्रमुख चौधरीले धनजनको क्षतिको विवरण लिई नसेको बतए ।

घरमा पानी पसेकाले लुगाकपडा, भाडाकुँडा, खाद्यान्न भिजेका कारण खान र लाउन समेत समस्या भएको नगर प्रमुख चौधरीले बताए ।
