कञ्चनपुर — अस्तुर्नी डगौरा गत वैशाखमा ७५ वर्ष पुगिन् । उनले आफ्नो आधा बढी जीवन कमैया भएर बिताएकी उनका साहुकै घरमा छोराछोरी जन्मे, हुर्किए र कमैया बस्नकै लागि अन्यत्र गए । उनले परिवारसँगै बस्न पाउन थालेको धेरै भएको छैन । उनको विवाह ८ वर्षको उमेरमै भएको थियो । श्रीमान् कृष्णबहादुर हालको कृष्णपुर नगरपालिकाको बडीखल्ला भन्ने ठाउँमा ईश्वरी भट्टको घरमा कमैया बसेका थिए । कति रुपैयाँ ऋण लिएका थिए, कहिलेदेखि बसेका थिए यो समेत अस्तुर्नीलाई थाहा छैन । विवाहपछि उनी पनि श्रीमान्सँगै त्यहीँ बस्न थालिन् । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायको बाहुल्यता भएको क्षेत्रमा २१ औं शताब्दीमा सोच्न पनि नसकिने दासत्वको प्रथा (कमैया) जताततै थियो । २०५७ मा कमैयाबाट मुक्त भएका परिवार अन्य नेपालीसरह जीवन जीउन थालेका हुन् ।
कृषिमा आश्रित थारु समुदायमा कमैया प्रथाको सुरुआत आफ्नै सुमदायमा पनि रहेको पाइन्छ । तर दासत्व जस्तो नभई काम गर्ने र मिलेर खानेसम्म थियो । २०५२ मा सुकुम्बासी समस्या समाधान आयोगले कमैयाको अवस्थाबारे अध्ययन गर्न गठन गरेको सर्वेक्षण समितिका संयोजकसमेत रहेका बलबहादुर डगौराका अनुसार २०२४ मा पहिलो पटक नापी हुनुभन्दा अगाडिसम्म जमिन कसैको नाममा थिएन । जसको जहाँ इच्छा लाग्यो त्यहीँ खनजोत गर्थे । त्यतिबेला तराईमा औलो, सित्तलालगायतका महामारीको डर थियो । मानिसमात्रै होइन जनावर पनि सखाप हुने । महामारीबाट बच्ने एउटै उपाय बसाइँसराई थियो । नयाँ ठाउँमा जाँदा जमिनको व्यवस्थापनदेखि गोरु तथा राँगादेखि बसोबासको व्यवस्था गर्न गाह्रो हुन्थ्यो । जसले व्यवस्थापन गर्न सक्दैनथ्यो उसले अर्काको खेत जोतेर घरपरिवारलाई सघाएर गुजारा चलाउँथ्यो । त्यतिबेला यसरी अर्काको खेत जोतेर आफ्नो गुजारा गर्नेलाई थारु भाषामा कमाशु (कमुईया) भन्ने चलन थियो ।
२०२० पछि तराईमा पहाडी समुदायको बसोबास बाक्लिन थाल्यो । त्यसपछि जमिन्दारहरुले थारु समुदायलाई कमैया राख्न थाले । सुरुमा धेरै जमिन हुनेहरुले कमैयालाई पनि निश्चित जमिन, अन्न छुट्याएर दिन्थे । जब कम जमिन हुनेहरु पनि कमैया राख्न थाले त्यसपछि खानलाउन समेत पर्याप्त दिन नसक्ने गरी अमानवीय व्यवहार सुरु हुन थाल्यो । यो कुरा डगौराले गरेको सर्वेक्षणे प्रतिवेदनमा समेत पाइन्छन् । रामबहादुर क्षेत्रीले २००८ मा गरेको अध्ययनअनुसार कमैया प्रथा सुरु भएको एक सयदेखि दुई सय वर्ष भएको छ । त्यसअघिसम्म आदिवासी थारुहरुसँग प्रशस्त जमिनथियो । बिस्तारै जमिन कम हुँदै गएपछि उनीहरु कमैया बस्न थालेका हुन् । कमैया बसेका घरमा उनीहरु खेतीपातीदेखि, गाईवस्तु चराउनेलगायत घरका सबै काम गर्नुपर्थ्यो । पुरुषहरुले हलो जोत्ने, खन्ने, दाउरा चिर्ने, जंगलबाट दाउरा ल्याउनेलगायत काम गर्नुपर्थ्यो भने महिलाको खेतीपातीसँगै साहुको घरका लुगाकपडा, भाडाकुडा धुने, गाइवस्तु चराउने हुन्थ्यो ।
कमैया बसेका बेला अस्तुर्नी बिहान ४ वजे उठेर गोठ सफा गर्ने, गाईवस्तुलाई घास परालहाल्ने, घास काट्ने र भाडाकुडा धुने काम गर्थिन् । त्यसपछि खेतीपाती लगाउने र भित्र्याउन काम पनि गर्थिन् । दिनभरि खेतीपाती वा अन्य काम गरेपछि साँझपख फेरि साहुकै घरको काम । राति १० बजेपछि मात्रै आफ्नो छाप्रोमा गएर खाना बनाउन पाउँथिन् । यति सबै काम गरेपछि साहुले वर्षभरि खानका लागि निश्चित धान र गहुँ दिन्थे । त्यसबाहेक सबै आफैले जोहो गर्नुपर्थ्यो । धान, गहुँ थप मागे फेरि ऋण थपिन्थ्यो । यसरी थपिदै गएपछि कमैया बसेकाहरु ऋणबाट उम्किनै नसक्ने भएका थिए । अहिले उनको दैनिकी फेरिएको छ । बिहानदेखि साँझसम्मै काममा खटिनु पर्दैन र परिवारका सदस्य पनि सँगै छन् । सबै आ–आफ्नो पेशामा लागेका छन् । उनले अहिले दासझैं काम गर्नुपरेको छैन । २०५७ साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कमैया मुक्तिको घोषणा गरे । देउवा यहीँ क्षेत्रका भएकाले उनलाई यो प्रथाबारे ज्ञान त हुने नै भयो र देशमा फैलिएको माओवादी विद्रोहमा थारु समुदायका युवा धेरै मात्रामा लडाकु बन्न थालेपछि सरकार यो प्रथा अन्त्य गर्ने निर्णयमा पुगेको थियो । तर कमैया मुक्तिको घोषणापछि केही समय निक्कै अन्यौल भयो । मुक्त भएका कमैयालाई शिविरिमा भेला गर्न थालियो तर त्यहाँ खाने बस्ने ठेगान थिएन । रोजगारी केही नहुँदा खान लाउनै समस्या भयो । बिस्तारै सरकारले कमैयाको लगत संकलनदेखि वर्गीकरण गर्दै पुर्नस्थापनाका लागि जमिन वितरण गर्न थाल्यो । त्यसपछि भने उनीहरुले मुक्त भएको अभाश गर्न थाले । ‘जमिन पाएपछि बस्ने ठेगान भयो,’ अस्तुर्नीले भनिन्, ‘त्यसपछि विस्तारै खेतीपातीदेखि कामपनि गर्न थाल्यौं ।’ कमैया मुक्त घोषणा गर्दा कञ्चनपुरमा सुरुमा २ हजार ४ सय ६२ परिवारको लगत संकलन गरिएको थियो । त्यसपछि २०५९ मा २ हजार छुट परिवारको लगत संकलन भयो र यस जिल्लामा मुक्त कमैयाको संख्या करिब साढे ४ हजार पुग्यो ।
सुरुमा ९ वटा शिविरमा राखिएका उनीहरुलाई जिल्लाका विभिन्न स्थानमा आधा कादेखि ५ कासम्म जमिन दिएर पुर्नस्थापना गरिएको छ । बजारनजिक बसोबास गर्ने र ग्रामीण भेगमा बसोबास गर्नेलाई जमिनको मूल्यांकनका आधारमा धेरैथोरै दिएको हो । तर अधिकांश पुर्नस्थापना गरिएको मुक्त कमैयाको बस्ती नदी किनारमा भएका कारण बाढीको जोखिम भने रहेको छ । मुक्त घोषणा भएको एक वर्षपछि अस्तुर्नीको परिवारले कञ्चनपुरको बेदकोट नगरपालिका–३ आशापुरमा चौधर नदी किनारमा पुर्नस्थापना कार्यक्रम अन्तरगत ५ का जमिन पायो । त्यसपछि कमैया बस्नकै लागि विभिन्न ठाउँमा गएका उनका छोराहरु पनि एकै ठाउँमा पुगे । पूरै परिवार सँगै बस्न पाउँदा अस्तुर्नी निकै खुशी भइन् । अस्तुर्नीका जेठा छोरा विक्रम बेदकोट नगरपालिकाको दैजीमा कमैया बसेका थिए । माइला बलबहादुर कृष्णपुर नगरपालिकामै र कान्छा मानबहादुर बेदकोटको सामादैजीमा । मुक्त घोषणापछि उनीहरु एकै शिविरमा बस्न पुगे । त्यसपछि जमिन पनि एकै ठाउँमा पाए । ५ का जमिन पाइयो । जहाँ बर्खामा बाढी पसेर डुबान र कटान हुन्थ्यो । नजिकै पहाडी समुदायको बस्ती थियो । पहाडी समुदायले पनि अनेक दुखदिन्थे । ‘हाम्रो जमिन हो, हामी नै बनाउँछौं’ भन्दै ढुंगा हान्ने तथा झगडा गर्न आउने गरेको मानबहादुर डगौराले बताए । ‘एक/दुई वर्ष त यो भन्दा कमैया बस्नु नै ठिक होला भने जस्तो पनि भयो,’ उनले भने, ‘एकातिर पहाडियाले दुखदिने अर्कोतिर चौधर नदी घरभित्रै पस्ने, खेतीपाती पनि केही नहुने ।’ अहिले भने आशापुरमा धेरै परिवर्तन भइसकेको छ । मुक्त कमैयालाई पुर्नस्थापना गर्दा बनेका घर टहराहरु सबै पक्की घरले विस्थापित भएका छन् । बाढी पस्ने खेत पनि नदी किनारमा तटबन्धसँगै माटो भरानले उब्जाउ भएको छ । कोही तरकारी खेतीमा लागेका छन् । कोही मिस्त्री काममा लागेका छन् । केही कामको खोजीमा भारत पसेका छन् । सबै जना केही न केही पेशा गरिरहेका छन् । तीन जना वैदेशिक रोजगारीमा पनि छन् । १६ परिवारलाई पुर्नस्थापना गरिएको यो शिविरमा अहिले यहाँ बस्ने परिवारको संख्या ३६ पुगेको छ । शिविरमा १५ जना मिस्त्री काम गरिरहेका छन् । उनीहरुसँगै १५/२० जना सहयोगीका रुपमा मजदुरी गर्छन् । बिहानै खाना बोकेर काममा निस्किन्छन् । साँझ घर फर्किन्छन् । ‘अहिले त आफ्नो मनले चाहेको काम गर्न पाएका छौं, आम्दानी पनि राम्रै भएको छ,’ मानबहादुरले भने, ‘यसले नै हामी सबैको जीवन फेरिएको छ ।’ उनले तरकारी खेतीबाटै २० लाख बढी खर्चेर पक्की घर बनाएका छन् । छोरालाई स्कुल पढाएका छन् । ५ का आफ्नो र १० का भाडामा लिएर उनले मौसमी र बेमौसमी तरकारी खेती गरिरहेका छन् । यसबाट वर्षमा ४/५ लाख सम्म बचत हुने गरेको उनी बताउँछन् ।
४० वर्षीय मानबहादुर ७/८ वर्षकै उमेरदेखि कमैया बसेका हुन् । बुवाकृष्ण बहादुर कमैया बसेकै बेला बडीखल्ला भन्ने ठाउँमा जन्मिए । कमैया बस्न सानैमा परिवारबाट छुट्टिए । उनी सामादैजीमा खडक विष्टको घरमा कमैया बसे । सानो छदा गाई बाख्रा चराउने र ठूलो भएपछि हलो जोत्ने, जंगलबाट दाउरा ल्याउने काम गर्न थाले । १७ वर्षको उमेरमा उनले ३ ठाउँमा कमैया बस्नुपर्यो । ३० वर्ष कमैया बसेका बलबहादुर डगौरा पनि अहिले घर बनाउने मिस्त्री भएका छन् । कमैया मुक्ति घोषणापछि विभिन्न संघ संस्थाले सीपमूलक तालिम दिएको थियो । त्यहीँ क्रममा उनले पनि मिस्त्रीको तालिम लिए । त्यसपछि उनले घर निर्माणका काममा ज्यालादारी गर्न थाले । अहिले उनी अब्बल मिस्त्री भएका छन् । काम गर्न पनि भ्याईनभ्याई छ । आशापुरकी जानकी चौधरीको मनमा कमैया बसेका बेला मालिकले गरेको व्यवहार अहिले पनि खड्किरहन्छ । घाम पानीजस्तो सुकै बेला पनि आराम गर्न नपाइने । गर्भवती भएका बेला पनि भारी बोक्नुपर्ने । सुत्केरी भएपछि बच्चालाई दुधदिन समेत नपाउने । एकछिन दुध खुवाउन बस्दा पनि गाली खानुपर्ने । बच्चा बिरामी हुँदा पनि अस्पताल लैजान नपाइने । यस्ता थुप्रै दुख झेलेकी उनलाई अहिले आनन्द लागिरहेको बताइन् । ‘बिहान ४ वजे उठेर अध्यारोमै खाना बनाउन सक्यो त खायो, नत्र दिनभरि भोकै बस्नुपर्थ्यो,’ अढाई दशक पुराना दिन सम्झिदै जानकीले भनिन्, ‘राति १० बजेसम्म मालिककै घरमा काम हुन्थ्यो, त्यसपछि आएर मात्रै खाना खान पाइन्थ्यो ।’ काममा ढिलो गए मालिकले अन्न दिँदैनथे । अन्न नपाए फेरि पैंचो माग्नुपर्ने । पैंचो तिर्न नसके ऋण थपिदै जाने र यसरी बढ्दै गएर ऋणबाट उम्किनै नसकिने अवस्था आएको थियो ।
जानकीले पनि अहिले आफ्नो र भाडाको जमिनमा तरकारी खेती गरिरहेकी छिन् । उनले सिजनमा दुई/अढाई लाख बचाउँछिन् । वर्षमा दुई/तीन सिजन तरकारी लगाउँछिन् । त्यसैबाट घर खर्च, छोराछोरीको पढाई सबै चलेको छ । आशापुरमा रहेको मुक्त कमैया बस्तीको बीचमा ग्राभेल सडक छ । पूर्वतिर लहरै ३०/३५ घर छन् । अधिकांश पक्की बनिसके । केही बन्दैछन् । बाटोको पश्चिमतिर खेत छ । खेत चौधर नदीसम्म पुग्छ । अधिकांशले तरकारी लगाएका छन् । कसैले मकै पनि लगाएका छन् । बेदकोट नगरपालिका ३ मा रहेको यो मुक्त कमैया शिविरमा पुग्दा देखिने दृश्यले उनीहरुको जीवनमा आएको परिवर्तनलाई देखाउँछ । कान्तिपुरबाट
