दार्चुला -दार्चुला भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । लक्ष्यको १७ प्रतिशत बढी राजश्व संकलन गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिनुभयो । गत वर्ष कार्यालयले ५० लाख ७० हजार लक्ष्य राखेको थियो । गत आर्थिक वर्षमा ५९ लाख २९ हजार ९ सय ३५ रुपैयाँ राजश्व रकम संकलन भएको हो । वार्षिक लक्ष्यभन्दा ८ लाख ५९ हजार ९ सय ३५ बढी राजश्व संकलन गरिएको कार्यालय प्रमुख प्रसादले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षको सुरुको महिना साउनमा ६ लाख ७० हजार ४ सय ८१ रुपैयाँ, भदौमा ४ लाख ६ हजार ७१ रुपैयाँ, असोजमा ४ लाख ४९ हजार १ सय ६८ रुपैयाँ, कार्तिकमा ४ लाख १३ हजार २ सय १ रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै मंसिर महिनामा ३ लाख ६८ हजार ९३ रुपैयाँ, पुषमा ३ लाख २७ हजार ४ सय ८० रुपैयाँ, माघ महिनामा २ लाख ७२ हजार ३ सय ५८ रुपैयाँ, फाल्गुनमा ४ लाख ५३ हजार ९ सय १२ रुपैयाँ र चैत्र महिनामा ५ लाख ५० हजार ६ सय २८ रुपैयाँ राजस्व संकलन भयो । बैशाख महिनामा आर्थिक वर्षकै बढी ८ लाख १३ हजार ७ सय ९३ रुपैयाँ राजस्व संकलन गरिएको छ । जेठ महिनामा ६ लाख ८४ हजार ५ सय ५० रुपैयाँ र असार महिनामा ५ लाख २० हजार २ सय रुपैयाँ राजश्व संकलन गरिएको छ । समग्रमा राजस्व संकलन वार्षिक लक्ष्यभन्दा १६.९६ प्रतिशत बढी भएको दार्चुला भन्सार कार्यालयले जनाएको छ ।
