दार्चुला-जिल्लाको नौगाड गाउँपालिकाका विभिन्न क्षेत्रमा जंगली जनावरले बारीमा फलेको स्याउ खान थालेपछि किसानहरु चिन्तित भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मा रहेका जात्रा, मानाकोट र लक्सेरी गाउँमा स्थानीयहरुले उत्पादन गरेको स्याँउ जंगली जनावर ओदले खान थालेपछि किसानहरु चिन्तित भएका हुन ।
पछिल्लो केही दिनयता रातिको समयमा जंगली जनावरले स्याँउ खाने तथा नोक्सानी गरेको स्थानीयले बताएका छन् । रातिको समयमा ओद (जंगली जनावर) स्याउबारीमा आउने भएकाले धपाउन समेत नमिल्ने गरेको स्थानीय ठगेन्द्र सिह जोहारीले जानकारी दिए । स्याँउ राम्रै फले पनि राम्रो संग पाक्न नपाउदै जंगली जनावरले खानथाले पछि समस्या भएको उनले बताए । नागु क्षेत्रमा निजि तथा सामुहिक फर्ममा उत्पादन भएको करिब १० क्विन्टल भन्दा बढी स्याँउ सखाप पारेको त्याहाका स्थानीयहरुले बताएका छन । जंगली जनावरले हरेक वर्ष जात्रा, मानाकोट र लक्सेरी गाउँमा पसेर स्याँउ खानेगरेको किसानहरुले बताएका छन् ।
केही वर्षदेखि व्यावसायिक रुपमा स्याँउ उत्पादन थालिए पनि जंगली जनावरले नोक्सानी गर्न थालेपछि मेहनत खेर गएको अर्का किसान धनसिह डडालले जानकारी दिए । स्याँउबाट राम्रो आम्दानी गर्ने सोच बनाए पनि जंगली जनावरले नोक्सानी गरेकाले चिन्ता थपिएको उनले बताए । नौगाड गाउपालिका–१ स्थित मानाकोट, नागु, लक्सरी र जात्रामा मात्रै यो सिजनमा हरेक वर्ष १० देखि १५ क्विन्टल बढी स्याँउ उत्पादन हुन्छ । केही वर्षदेखि यहाँका स्थानीय किसान व्यवसायिक रुपमा स्याँउ उत्पादनमा जुटेका छन । जंगली जनावरको नोक्सानीबाट पीडित किसानलाई सम्बन्धित निकायले राहत दिनुपर्नेमा नौगाडका किसानले जोड दिएका छन् ।
जिल्लाको अपि हिमाल, ब्याँस, नौगाड गाउँपालिकामा स्याँउ उत्पादन राम्रो हुने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याँउ जोन दार्चुलाका अनुसार हिमाली स्थानीय तहका विभिन्न क्षेत्रमा बार्षिक रुपमा राम्रो उत्पादन हुने गरेको जनाएको छ । गाउँसम्म यातायातको पहुँच नहुँदा बजार र ढुवानीको समस्या झेल्नुपरेको किसानको बताएका छन । दार्चुलाको मौसम सुहाउँदो इटाली, गाला, फुजी, रोयल, डेलिसियस, गोल्डन डेलिसियस लगायत जातका स्याँउको उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।
