धनगढी— नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ । निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधबार सुरु भएको छ । तालिम तीन दिनसम्म चल्नेछ । अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला समृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंबीच भएको सम्झौताबमोजिम नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा तीन दिने तालिम सुरु भएको हो ।
निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम उद्घाटन सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघको अध्यक्ष पदमराज चौलागाईंले गरे । कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई तथा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गगनदेव भट्टको उपस्थिति थियो । उद्घाटन सत्रमा स्याहार अर्थतन्त्रमा अब सरकार र निजी क्षेत्र गम्भीर भएर यसको आवश्यक कार्यविधि बनाउनु पर्ने सरोकारवालाहरुले जोड दिए । प्रत्यक्ष आर्थिकमा नजोडिएको तर ठूलो हिस्सा अर्थतन्त्र र आर्थिक क्रियाकलापसँग जोडिएको विषय भएकाले स्याहार अर्थतन्त्रलाई राष्ट्रको विषय वनाउन आवश्यक रहेको उनीहरुले बताए । यसलाई सहजीकरण र आवश्यक सहयोग गर्न निजी क्षेत्र सधैं तयार रहेको उनीहरुको भनाइ छ । तालिममा सुदूरपश्चिमका उद्योगी व्यवसायी सरकारी तथा गैरसरकारीको सहभागिता छ । कान्तिपुरबाट
